मेलबर्न। 'गुराँस फुल्यो वनैमा', 'यो मन त मेरो नेपाली हो' गीत नसुनेका नेपाली संगीतका श्रोता नगण्य नै होलान्। बच्चादेखि पाका उमेरका व्यक्तिहरुका समेत प्रिय यस्ता चर्चित गीतलाई जन्माउने ब्याण्ड १९७४ एडी अष्ट्रेलिया आउनेभएको छ। अष्ट्रेलियामा १९७४ एडीको 'यो मन त मेरो नेपाली हो' सांगीतिक टुर २०२२ को आयोजना गरिएको हो।
विशेष गरी ब्लुज रक र लोकपपका लागि चर्चित यो ब्याण्डले 'जसो गर, जे गर, जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो' गीत गाउँदा विश्वभर छरिएका नेपालीको मन मातृभूमीको प्रेमले ओतप्रोत हुने गर्दछ। ब्याण्डले अष्ट्रेलियाका ८ सहरमा यस्तै ओझिलो र संगै धामकेदार प्रस्तुतिका साथ नेपाली मनलाई एकतामा बाँध्ने विश्वास गरिएको छ। जसका कारण, 'यो मन त मेरो नेपाली हो' सांगीतिक टुरको घोषणा संगै अष्ट्रेलियाको नेपाली समुदायमा एक किसिमको उत्साह छाइरहेको छ।
कन्सर्ट अष्ट्रेलियाको पर्थ, डार्विन, एडिलेड, होबार्ट, मेलबर्न, ब्रिसबेन, क्यानबेरा र सिड्नीमा हुनेछ। १९७४ एडीको 'यो मन त मेरो नेपाली हो' अष्ट्रेलिया टुर २०२२ लाई रोटेपिङ्ग इन्टरटेनमेन्टले आयोजना गरेको हो। र, अष्ट्रेलियाका विभिन्न सहरमा हुने कन्सर्टका लागि त्यहाँ स्थानिय इभेन्ट आयोजकले सहकार्य गरेका छन्।
अष्ट्रेलियाव्यापी टुर पर्थबाट सुरु हुनेछ। २१ अगस्टमा हुने पर्थको कन्सर्ट पर्थ नेपाल लगायत संस्थाले आयोजना गरेका छन्। अर्को कन्सर्ट २५ अगस्टमा डार्विनमा हुनेछ, जसको आयोजना अप-अप इन्टरटेनमेन्टले गरेको छ। त्यसैगरी, २८ अगस्टमा एडलेडमा हुने कन्सर्टलाई गिरिश इन्टरटेनमेन्टले आयोजना गरेको छ भने त्यसपछि सेप्टेम्बर २ मा होबार्टमा हुने कन्सर्टको आयोजक पप-अप इन्टरटेनमेन्ट रहेको छ।
१९७४ एडीको 'यो मन त मेरो नेपाली हो' अष्ट्रेलिया टुर २०२२ को अर्को कन्सर्ट मेलबर्नमा हुनेछ। मेलबर्नमा आगामी ४ सेप्टेम्बरमा कन्सर्ट आयोजना गरिएको बताइएको छ। उक्त कन्सर्टको आयोजना सोलाङ्ग्चरले गरेको छ। त्यसपछि छैठौं कन्सर्ट ६ सेप्टेम्बरमा ब्रिसबेनमा हुनेछ, जसको आयोजना क्रिएटिभ इभेन्ट्सले गरेको छ। अर्को दिन, अर्थात ७ सेप्टेम्बरमा क्यानबेरामा इभेन्ट हुनेछ, जसको आयोजना श्यारोन एण्ड जियनले इभेन्ट्सले गरेको छ। 'यो मन त मेरो नेपाली हो' अष्ट्रेलिया टुरको अन्तिम कन्सर्ट सिड्नीमा हुनेछ। उक्त कन्सर्ट रोटेपिङ्गले स्थानीय आयोजकसंग सहकार्य गरी योजना गर्दैछ।