मेलबर्न। अष्ट्रेलियामा रहेर आफ्नो पढाइ र करियरलाई संगसंगै लैजानु चुनौतीपूर्ण हुन्छ। त्यससंगसंगै सामाजिक काममा पनि सक्रिय रहेर सबै तवरबाट सन्तुलित जीवनशैली अपनाउँदै समुदायमा समेत स्थापित हुन सक्नु पक्कै चानचुने कुरा होइन। यस्तै उदाहरणीय व्यक्तिमा पर्छन्, माधव खरेल।
गुल्मी घर भई अष्ट्रेलियाको भिक्टोरियालाई कर्मथलो बनाएका खरेल पेशाले कानुन व्यवसायी हुन्। खरेलले डिकेन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीति तथा नीति अध्ययन विषयमा र कानूनमा स्नातक गरेका छन् । द कलेज अफ ल मा कानून अभ्यास विषयमा ग्राजुएट डिप्लोमा गरेका उनले सोही कलेजबाट कानून व्यवसायीको सीप प्रमाणपत्र प्राप्त गरेका हुन् । हाल उनी कानून विषयमा स्नातकोत्तर तहका विद्यार्थी हुन् भने भिक्टोरियाको उत्कृष्ट कानूनी फर्ममा आबद्ध रही सुप्रिम कोर्ट अफ भिक्टोरियामा कानून व्यवसायीका रुपमा कार्यरत छन्।
माधव खरेल स्नातक तह पढ्ने समयदेखि नै सामाजिक काममा सक्रिय हुन थालेका थिए। डिकेन विश्वविद्यालयको नेपाली विद्यार्थी समाजको संस्थापकमा उनी पर्दछन्। नेपाली विद्यार्थीहरुमा एक-अर्काका लागि सहयोग, विद्यार्थीहरुको सम्बन्ध विस्तार तथा एकताको उद्देश्य सहित स्थापना गरिएको उक्त समाजको उनी दुई पटक अध्यक्ष रहेका थिए। त्यसपछि आफ्नो सामाजिक सक्रियतालाई बढाउंदै उनी नेपाली समुदायको हितका निम्ति प्रत्यक्ष, अप्रत्यक्ष रुपमा क्रियाशील रहन थाले।
माधव खरेल हाल गुल्मी समाज भिक्टोरियाको अध्यक्ष तथा नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को सचिव रहेका छन्। सामुदायिक काममा युवाहरुको सहभागिता बढाउनुपर्छ तथा सामाजिक संस्थाहरुले युवाहरुलाई बहुआयामिक ढंगले समेटेर लैजानुपर्छ भन्ने मान्यता राख्ने खरेलले गुल्मी समाज भिक्टोरियामा खेलकुद, कलाकारिता, सांस्कृतिक कार्यलाई पनि महत्त्व दिंदै विभिन्न समिति बनाएर युवा सक्रियतालाई जोड दिइरहेका छन्। जसअनुसार, गुल्मी समाज भिक्टोरियाले क्रिकेट टुर्नामेन्ट, फ़ुटसल प्रतियोगिता, सांस्कृतिक कार्यक्रममा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। केही समय अगाडी मात्र, गुल्मी समाज भिक्टोरियाले नेपालका राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति सहितको कार्यक्रम तीज धमाका भव्य रुपमा सम्पन्न गरेको छ।
पछिल्लो समय खरेल नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को सचिव पदमा मनोनित भएका छन्। न्याभमा अप्रत्यक्ष रुपमा सक्रिय रहेतापनि उनी कार्यसमितिमा रहेको यो पहिलो पटक हो। भिक्टोरियामा वसोवास गर्ने नेपालीहरुको सबैभन्दा पूरानो संस्थामा आबद्ध हुन पाउनु आफ्ना लागि ठूलो अवसर मान्छन् खरेल।
उनी भन्छन्,"आफ्नो लागि त जसरी पनि, जो पनि बाँच्न सक्छ, यदि साँच्चै बाँच्ने नै हो भने समाजका लागि बाँच्नुपर्छ भन्छु म। यति ठूला संस्थाहरूले यी जिम्मेवारीका लागि मलाई विश्वास गर्नुभयो, आभारी छु। न्याभको सचिव पदमा मनोनित गर्नुहुने न्याभका अध्यक्ष, आदरणीय दाई प्रेम राज उप्रेतीलाई विशेष धन्यवाद दिन चाहन्छु। गुल्मी समाजका अग्रज व्यक्तित्वहरुप्रति कृतज्ञ छु। यो विश्वासलाई सम्मान गर्दै आफ्नो तर्फबाट सक्ने योजना र कामलाई अगाडी बढाउन म सधै प्रतिबद्ध रहनेछु "।
आगामी योजनाहरु बताउँदै गुल्मी समाज अध्यक्ष तथा न्याभ सचिव माधव खरेल भन्छन् ,"मेरो विचार सधै एकताको छ। भिक्टोरिया मात्र नभएर अष्ट्रेलियाको समग्र नेपाली समुदायमा एकता जरुरी छ। त्यो एकता व्यक्ति, संस्था र समुदायमा पनि आवश्यक छ। व्यक्तिगत, संस्थागत र सामुदायिक एकता भयो भने हामीले नेपाली समुदायलाई यहाँको बहुसांस्कृतिक समाजमा अग्रपंक्तिमा उभ्याउन सक्नेछौं"।