लनचेस्टन। अष्ट्रेलियाको तास्मानियामा रहेको नेपाली समुदायमा हिन्दु नारीहरुको पर्व तीजको माहोल छाइरहेको छ। नेपाली समुदायले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ। यसैबीच लनचेस्टनमा आइतबार तीज मेला लाग्ने भएको छ। नारी निकुञ्ज तास्मानिया र पर्दा इभेन्ट्सको सहकार्यमा 'तीज मेला एवं रमाइलो साँझ २०२२' को आयोजना गरिएको हो।
कार्यक्रममा लोकप्रिय गायक-गायिका प्रकाश सपुत र प्रिती आले तथा लोकप्रिय नृत्यांगना करिष्मा ढकालको बेजोड प्रस्तुति रहनेछ। त्यसैगरी कार्यक्रममा खानाका स्टल, डिजे, फोटोग्राफी लगायत मनोरंजनका विविध पक्ष रहने आयोजकले जनाएका छन्। तीज मेला एवं रमाइलो साँझ २०२२' आगामी आइतबार दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म संचालन हुनेछ। कार्यक्रमको मूख्य प्रायोजन पिक्टर सर्भिसेजले गरेको छ।
नारी निकुञ्जले अन्य सहरमा घोषणा गरेजस्तै तास्मानियामा पनि नेपालका ग्रामिण महिलाहरुको सहयोगार्थ कार्यक्रम गर्न लागिएको नारीनिकुञ्ज तास्मानियाकी आरजु रिजालले जानकारी गराउनुभयो। उहाँका अनुसार, यस कार्यक्रमबाट संकलित रकम आङ खस्ने रोग परियोजनाका लागि हस्तान्तरण गरिनेछ।
पर्दा इभेन्ट्सका निर्देशक पुरुषोतम रिमालले विदेशमा आफ्नो समुदायलाई मनोरंजनसंगै नेपाली कला, संस्कृतिको प्रबर्द्धनका लागि युवाहरुको अग्रसरतामा पर्दा इभेन्ट्स स्थापना गरिएको जनाउनुभयो। त्यसमा पनि तीज मेला परोपकारी कार्यसंग जोडिएकोले अझ बढी उत्साह र सहकार्य खुसी मिलेको उहाँले बताउनुभयो।
यसपछि नारी निकुञ्ज तास्मानियाले होबार्टको मल्टिकल्चरल हबमा तीजकै दिन अगस्ट ३० मा तीज पूजा एवम् नाचागान कार्यक्रमको आयोजना गरेको छ । जसमा नेपाली पण्डितहरुले पूजा गराउने नारी निकुञ्ज तास्मानियाले जानकारी गराएको छ । आयोजक संस्थाका अनुसार, उक्त कार्यक्रम पनि आङ खस्ने समस्याबाट ग्रसित महिलाहरुको सहयोगार्थ हुनेछ।