सिड्नी। हिन्दु नेपाली नारीहरुको पर्व तीजको अवसरमा अष्ट्रेलियामा विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको महिला विभाग नारी निकुञ्जले हरेक वर्ष तीजका कार्यक्रम आयोजना गर्ने गर्दछ। नारीनिकुञ्जले नेपाली संस्कृतिको जगेर्ना मात्र नभई परोपकारी कार्यका लागि समेत तीज मनाउँदै आएको छ।
न्यु साउथ वेल्समा शुक्रबार अगष्ट १२ मा लोक गायिका मञ्जु पौडेल को सांगीतिक प्रस्तुति सहित तीज कार्यक्रम आयोजना हुँदैछ । नारीनिकुञ्जले अष्ट्रेलियाका सबैजसो राज्यमा सम्बन्धित राज्य संयोजक समितिको आयोजनामा कार्यक्रम गर्ने गर्दछ, जसअन्तर्गत न्यू साउथ वेल्समा पनि शुक्रबार तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रम बेलुकी ५ बजे देखि १० बजेसम्म Orion Function Centre Campsie मा संचालन हुनेछ।
नारी निकुञ्ज न्यु साउथ वेल्स संयोजक समिता गुरुङले केवल सांस्कृतिक रुपले मात्र नभई परोपकारी उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हुँदा सबैको सहभागिताको अपेक्षा रहेको उल्लेख गर्नुभयो।
यसैगरि नारी निकुञ्ज अष्ट्रेलिया, राष्ट्रिय संयोजक मञ्जु खड्काले अष्ट्रेलियाका सिड्नी, एडिलेड, पर्थ, तास्मनिया लगायतका विभिन्न शहर मा परोपकारी तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले प्रवासमा नेपाली सांस्कृतिक पर्व मनाउनु संगसंगै जन्मभूमिमा अभावका कारण समयमै स्वास्थ्य सुबिधा लिन नसक्दा कष्टकर जीवन विताउन बाध्य दिदिबहिनिका लागि थोरै भएपनि सहयोग जुटाउने नारी निकुञ्जको यस अभियानमा सहयोग गर्न सबैलाई आव्हान गर्नुभयो।
नारी निकुञ्जले परोपकारी उद्द्देश्य सहित यस्ता कार्यक्रमको आयोजना गरी हालसम्म ३०० भन्दा बढी आङ खस्ने समस्या भएका नेपाली ग्रामिण महिलाहरुलाई उपचारमा सहयोग गरेको छ। हालसालै नारी निकुञ्जले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरेर संकलन गरेको अष्ट्रेलियन डलर १८,२५७ दोलखामा निर्माणाधिन महिला तथा वालवालिका अस्पतालमा सहयोग स्वरुप उपलब्ध गराएको थियो र अझै केहि रकम उठ्ने क्रममै रहेको नारी निकुञ्ज राष्ट्रिय उपसंयोजक समिक्षा अधिकारीले जानकारी दिनुभयो।