विगत २५ वर्षदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर बस्नुभएका ऋषि कँडेल अष्ट्रेलिया आएदेखि नै नेपाली भाषा र संस्कृतिको जर्गेनामा लागिरहनुभएको छ । नेपाल फेस्टिवलको सुरुवाती दिनदेखि आजसम्म सक्रिया रुपमा रहनुभएका कडेँल पेशागत रुपले स्थापित व्यवसायीका रुपमा परिचित हुनुहुन्छ। उहाँले विगत १० वर्षदेखि आफ्नै व्यवसाय गर्दै आइरहनुभएको छ । सन् २०१३ र २०१५ मा आयोजित दुई वटा नेपाल फेस्टिवलका संयोजक रहनुभएका कँडेलसंग यस वर्षको नेपाल फेस्टिभल मेलबर्न २०२२ को बारेमा कुराकानी गरेका छौँ ।
नेपाल फेस्टिवलको शुरुवाती समयबाट नै तपाई एनआरएनका तर्फबाट सक्रिय रुपमा हुनुहुन्थ्यो, दुईवटा महोत्सवको आफैंले संयोजन पनि गर्नुभएको छ, त्यतिबेला र अहिलेमा के भिन्नता छ?
नेपाल फेस्टिवलको शुरुवात गर्दा निकै चुनौती थियो । आर्थिक रुपमा पनि गाह्रो थियो किनभने नेपाली समुदाय स्थायित्वको चरणमा नै थियो । तर अहिले धेरै परिवर्तन भइरहेको छ । नेपाली समुदाय पनि परिपक्क हुदैंछ । व्यवसायमा पनि नेपालीहरुको बाहुल्यता बढ्दै गइरहेको छ । प्रायोजक संस्थाहरुको संख्या बढिरहेको छ र नेपाली समुदायमा प्रायोजन गर्न सक्ने व्यवसाय तथा व्यवसायीक व्यक्तित्वको संख्या पनि उल्लेख्य वृद्धि भइरहेको छ। जसले गर्दा आर्थिक रुपमा कार्यक्रम व्यवस्थापनलाई सहज हुन्छ ।
विदेशमा पनि नेपालको संस्कृति र मौलिकता जर्गेना गर्नका लागि नेपाल फेस्टिवलको भूमिका कस्तो रहेको छ?
नेपाल फेस्टिवल त ब्रान्ड नेपाल जस्तो भइसक्यो । अष्ट्रेलिया एनआरएनबाट सुरु भएको नेपाल फेस्टिवल अहिले एनआरएन भएका सबै देशमा आयोजना गरिन्छ । एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो, जसमा हामीले नेपालको परिचय अरु समुदायलाई चिनाउन पाउँछौं।
नेपाल फेस्टिवलमा शुरुवाती समयदेखि नै दोस्रो पुस्ताका नेपालीहरुको सहभागीता कस्तो थियो र दोस्रो पुस्तालाई नेपालको संस्कृति हन्तान्तरण गर्न नेपाल फेस्टिवलले कस्तो भूमिका निर्वाह गर्दछ ?
दोस्रो पुस्ताको सहभागीता पनि उत्साहजनक नै हुने गर्दछ । नेपाली गीत, संगीता, भेषभुषा, खाना, संस्कृतिमा उनीहरुको रुची छ । नृत्य लगायत सांस्कृतिक कार्यक्रममा सहभागी पनि भएका छन् । तर व्यवस्थापकीय वा भनौं संस्थागत हिसाबमा चाहीँ दोस्रो पुस्ताको सहभागीता कम रहेको छ । त्यसैले दोस्रो पुस्तालाई संरक्षक बनाएर लैजाने गरी अघि बढ्न सकियो भने अझै राम्रो हुन्छ ।
नेपाल फेस्टिभलले जे गर्दै आइरहेको छ, त्यो त निश्चित रुपमा सह्रायिन नै छ तर यसलाई अझै राम्रो बनाउन के गर्नुपर्ला?
हरेक वर्ष नयाँ कमिटि बनाएर अघि बढ्नु भन्दा पनि एउटा स्थायी कमिटी बनाएर एनआरएनका केही सदस्य मात्र थप गरेर नेपाल फेस्टिवल व्यवस्थापकिय कमिटी बनायो भने राम्रो हुन्छ जस्तो लाग्छ । त्यसो गर्न सकियो भने अघिल्लो वर्ष भएका काम र यस वर्ष थप गर्नुपर्ने कामहरु पहिल्याउन पनि सहज हुन्छ । अनि कार्यक्रमको गुणस्तरलाई बिशेष ध्यान दिन सकियो भने राम्रो हुन्छ जस्तो लाग्छ ।
अन्त्यमा, तपाईकोे आफ्नो भनाई केही छ ?
अष्ट्रेलियामा नेपाली समुदाय पनि बढ्दै गइरहेको छ । त्यसैले आर्थिक रुपमा यदि सकिन्छ भने नेपाल फेस्टिवललाई एक दिन बाट तीन दिनसम्म गर्न सक्दा यसको प्रभाव बढी हुन्छ । समयसीमा बढाउन सकियो भने नेपाली समुदायभन्दा बाहिरसम्म यसको प्रभावकारीता हुन्छ भन्ने हो । अन्त्यमा, सधैँको वर्ष झैँ यस वर्ष पनि सबैजना सहभागी भएर नेपाल फेस्टिभल भव्य रुपमा सफल पारौं भन्न चाहन्छु ।