एडिलेड। अष्ट्रेलियामा यतिबेला तीजको माहोल छाएको छ। केबिसी अष्ट्रेलियाले संयोजन गरेको अष्ट्रेलियाव्यापी सांगीतिक टुरका कारण यस वर्ष तीजको स्वागत अझ भव्य बनेको छ। एडिलेडमा अगस्ट ८, सोमबारका दिन तीज धमाका हुँदैछ। अष्ट्रेलियामा गत २२ जुलाईदेखि सुरु भएको धमाका २०७९ अन्तर्गत नै एडिलेडमा तीज धमाकाको रुपमा कार्यक्रम आयोजना गरिएको हो।
एडिलेडमा हुने कार्यक्रमका लागि केबिसीसंग गिरिश इभेन्ट एण्ड इन्टरटेनमेन्ट, थ्रीकेजी इभेन्ट्स र चन्द्र सूर्य इन्टरटेनमेन्टले सहकार्य गरेका छन्। आयोजकहरुका अनुसार, कार्यक्रममा लोकप्रिय गायक गायिका पशुपति शर्मा र रचना रिमालका साथमा स्थानीय कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहनेछ।
कार्यक्रमका लागि पशुपति शर्मा र रचना रिमाल एडिलेड आइपुग्नुभएको छ। केबिसी खबरका संस्थापक चिरञ्जीवी देवकाटा सहित एडिलेड आइपुगेको टोलीलाई मुख्य प्रायोजक ग्रेस एजुकेशन एण्ड माइग्रेसन एडिलेडका निर्देशक प्रकाश थापा , गिरीश इभेन्टका निर्देशक गगन गिरीले स्वागत गर्नुभएको थियो ।
धमाका २०७९ सांगीतिक टूरमा पशुपति शर्मा र रचना रिमालसंगै कमडियन सुवोध गौतम र दिपक आचार्य 'काकु' सहभागी हुनुहुन्छ। पर्थबाट कार्यक्रम सुरु गरेको धमाका टिमले तास्मानियाको लन्चेष्टन, भिक्टोरियाको मेलबर्न, क्विन्सल्याण्डको ब्रिसबेन, राजधानी क्यानबेरा, न्यू साउथ वेल्सको सिड्नीमा कार्यक्रम सम्पन्न गरिसकेको छ। एडिलेडमा आयोजना गरिएको तीज धमाका कार्यक्रम धमाका २०७९ को सातौँ कार्यक्रम हो।
धमाका २०७९ अष्ट्रेलिया टूरलाई ग्रेस ईन्टरनेशनलले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सरको रुपमा ब्लूबेरी रियल स्टेट मेलबर्न रहेको छ ।