मेलबर्न। आँखामा सपना र मुटुमा देश बोकेर समुद्र पारि कर्मथलो बनाउने नेपालीहरूको रोजाईको देशमध्ये अष्ट्रेलिया प्रमुख देशहरुभित्र पर्छ। कर्मभूमी जहाँ भएपनि मातृभूमिप्रतिको प्रेम र सद्भावमा कत्ति पनि कमी हुन नदिने नेपाली मनको विशेषता नै हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपाली कला संस्कृति, भाषासाहित्य र नेपालको पर्यटकीय प्रबर्द्धन गर्ने उद्देश्य बोकेर नेपाल फेस्टिवल गर्दै आएको छ। हरेक दुई वर्षमा हुने यो नेपाल फेस्टिवल अष्ट्रेलियाका विभिन्न राज्यमा हुने गर्दछ र सम्बन्धित राज्यका एनआरएन समितिले कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्ने गर्दछन्।
एनआरएनए भिक्टोरियाले आगामी सेप्टेम्बर १० तारिखका दिन मेलबर्नमा नेपाल फेस्टिवलको आयोजना गर्दैछ। नेपाल फेस्टिवललाई भव्य, व्यवस्थित र उद्देश्य अनुरुप सम्पन्न गर्नका लागि मेलबर्न र आसपासमा रहेका नेपाली संघसंस्था, सामाजिक अगुवा तथा समग्र समुदाय तीव्र तयारीमा जुटेका छन् । समुदायका अगुवा तथा समाजसेवी बम योन्जनले नेपाल फेस्टिवल मेलबर्न २०२२ का लागि अतिथि व्यवस्थापन टिमको नेतृत्व गरिरहनुभएको छ । नेपाल फेस्टिवलमा अतिथिको रुपमा नेपाली संघ-संस्थाका प्रतिनिधि मात्र नभई अष्ट्रेलियाका स्थानिय अधिकारी तथा सामाजिक व्यक्तित्व, बहुसांस्कृतिक समुदायका अगुवाहरुको उपस्थिति रहने गर्छ। यसै विषयवस्तुमा केन्द्रित रहेर आज हामीले सामुदायिक अगुवा बम योञ्जनसंग विशेष कुराकानी गरेका छौं।
नेपाल फेस्टिवलको महत्वबारे प्रष्ट पारिदिनुस् न ?
सांस्कृतिक र पर्यटकीय हिसाबले विदेशीहरुलाई नेपालको बारेमा चिनाउने यो सबैभन्दा राम्रो अवसर हो, जहाँ हामीले नेपाली भेषभुषा, नेपालको परिचय बोक्ने विभिन्न चित्र, नेपाली खाना, नेपाली संगीतको प्रबर्द्धन गरिरहेका हुन्छौं। यसले हाम्रो संस्कृतिको जगेर्ना पनि भइरहेको हुन्छ। अष्ट्रेलियामा हुर्किरहेको हाम्रो नयाँ पुस्तालाई नेपाल चिनाउने, उनीहरुलाई आफ्नो मौलिकता सिकाउन पाइने अवसरको रुपमा पनि नेपाल फेस्टिवल महत्त्वपूर्ण छ।
करिब एक महिना बाँकी रहँदा, फेस्टिवलको तयारी कस्तो चलिरहेको छ ?
विभिन्न कामका लागि छुट्टाछुट्टै समिति-उपसमिति बनाएर तयारी भइरहेको छ। नेपाली समुदायका अगुवाहरुले नेतृत्व गरिराख्नुभएको छ र सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नका लागि तयारी सुरु गरिसक्नुभएको छ। मलाई अतिथि व्यवस्थापनको जिम्मा भएको हुँदा यहाँको स्थानीय क्षेत्रबाट आउने अतिथिहरुलाई निमन्त्रणा पठाइसकेका छौं । स्थानीय क्षेत्रबाट करिब एक सय बीस जना अतिथि रहनुहुनेछ भन्ने हाम्रो अनुमान रहेको छ।
अतिथिहरु कुन-कुन क्षेत्रबाट रहनुहुनेछ र प्रमुख अथिति को रहनुहुनेछ ?
यो कार्यक्रम पर्यटन विशेष भएकोले पर्यटन मन्त्रालय विभाग र बहुसांस्कृतिक विभागबाट प्रतिनिधिहरु सबैलाई निमन्त्रणा गर्ने हाम्रो उद्देश्य रहेको छ। फेस्टिवलको प्रमुख अथितिको रुपमा भिक्टोरियाका प्रिमियरलाई निमन्त्रणा गरेका छौं। प्रिमियरको नै उपस्थिति रहोस् भन्ने हाम्रो प्रयास रहनेछ र यदि उहाँ आउन नसक्नुभएको खण्डमा उहाँको प्रतिनिधि उपस्थित रहनुहुनेछ।
कार्यक्रम खुला ठाउँमा हुने हुँदा भिड हुने सम्भावना देखिन्छ, यो अवस्थामा विशिष्ट अतिथिहरुको सुरक्षा व्यवस्थापन र उहाँहरुलाई सहजरुपमा कार्यक्रम अवलोकन गराउनको लागी के कस्तो तयारी गर्नुभएको छ?
यो बहुसांस्कृतिक कार्यक्रम भएको हुँदा र विगतका अनुभव हेर्दा, सुरक्षाका दृष्टिकोणले कुनै अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन। यद्यपि यहाँको स्थानीय सुरक्षा विभागसँग सहकार्य भने रहने नै छ। अर्कोतिर, अतिथिलाई सहजरुपमा कार्यक्रम अवलोकन गराउनका लागि हामी सभ्य नेपाली हौं, हामीले अतिथिको स्वागत र सम्मान गर्न जानेका छौं भन्ने कुरामा म विश्वस्त छु। अतिथि भगवान समान हुन् भन्ने हाम्रो नेपाली मान्यता नै रहेको छ।
अतिथिलाई नेपालको कला संस्कृति बारे सहज रुपमा बुझाउनका लागि भाषिक कठीनाईको सम्भावना कत्तिको रहन्छ? भाषा अनुवादको व्यवस्था गर्नुभएको छ कि?
आमन्त्रित अतिथीहरु नेपाल फेस्टिवलको औपचारिक कार्यक्रममा सहभागी हुनुहुनेछ। औपचारिक कार्यक्रममा सकेसम्म अंग्रेजी भाषा नै प्रयोग गरिनेछ, यसले गर्दा अप्ठ्यारो नहोला। यद्यपि जरुरी परेको खण्डमा हामीसंग भाषा अनुवादकहरु पनि रहनुहुनेछ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ?
नेपाल र नेपालीको इतिहास, पहिचान बोकेको, कला-संस्कृतिको प्रचार गर्ने सिग्निचर ईभेन्ट भएको हुनाले हाम्रो शान,मान र गौरवका लागि हाम्रो सम्पूर्ण समुदायलाई सक्रिय रुपमा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछु।