मेलबर्न। अष्ट्रेलियामा गत २२ जुलाईदेखि धमाका २०७९ सुरु भएको छ। अष्ट्रेलियाका विभिन्न सात शहरमा आयोजना हुँदै गरेको धमाका २०७९ अष्ट्रेलिया टूरलाई केविसी अष्ट्रेलियाले आयोजना गरेको हो। टूरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमडियन सुवोध गौतम र दिपक आचार्य काकु सहभागी हुनुहुन्छ। पर्थबाट कार्यक्रम सुरु गरेको धमाका टिमले तास्मानियाको लन्चेष्टनमा पनि कार्यक्रम सम्पन्न गरेको छ। तीज नजिकिएका कारण मेलबर्नमा यस कार्यक्रमलाई 'तीज धमाका २०७९' को रुपमा आयोजना गरिएको छ। मेलबर्नमा हुने कार्यक्रमका लागि गुल्मी समाज भिक्टोरिया, केइसी समाज, नासेम लगायत संस्थाले केबीसीसंग सहकार्य गरेका हुन्।
कार्यक्रमका बारेमा गुल्मी समाज भिक्टोरियाका अध्यक्ष माधव खरेल भन्नुहुन्छ," आपसी सद्भाव, नेपाली प्रतिभाको सम्मान, कला संस्कृतिको संरक्षण, मनोरंजन, नयाँ पुस्ताको सहभागिता जस्ता धेरै आयामहरु यो कार्यक्रमले समेट्नेछ भन्ने मलाई लागेको छ। पशुपती शर्मा तीज गीतको क्षेत्रमा अत्यन्तै लोकप्रिय हुनुहुन्छ भने रचना रिमाल उदाउँदो गायिकाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भइसक्नुभएको छ। अर्कोतिर, नेपालको कमेडी क्षेत्रमा प्रतिभाशाली युवा पुस्ताले अत्यन्तै राम्रो गरिरहनुभएको छ, जसमा सुवोध गौतम र काकु पनि पर्नुहुन्छ। उहाँहरुलाई यसरी स्वागत गर्न पाउनु हाम्रा लागि ठूलो अवसर हो। यो अवसर जुराइदिनुभएकोमा म केबीसी र चिरन्जीवीजीलाई विशेष धन्यवाद दिन चाहन्छु। "
तीज धमाका २०७९ आगामी अगस्ट १, सोमबार बेलुका ४ बजेदेखि सुरु हुनेछ। बल्ला बल्ला कम्युनिटी सेन्टरमा हुने उक्त कार्यक्रममा गुल्मी समाज भिक्टोरियाको सांस्कृतिक समूह लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहनेछ। तीज धमाका २०७९ मा तीज दरलाई समेट्ने गरी खानाको स्टल र फोटोग्राफी समेत रहनेछ। आफूहरुले कार्यक्रमलाई मनोरंजनको एउटा पूर्ण प्याकेज बनाउने प्रयास गरेको गुल्मी समाज भिक्टोरियाले जानकारी गराएको छ। कार्यक्रमको संचालन अनिश शर्मा गैरे र सिमरन महर्जनले गर्नुहुनेछ।
गुल्मी समाज भिक्टोरियाले आफ्नो फेसबुक पेज मार्फत सुचना जारी गर्दै कार्यक्रममा सहभागिताका लागि टिकट बुकिङ्ग खुल्ला गरेको छ। अनलाइन मार्फत टिकट बुकिङ्ग गर्न सकिनेछ।
धमाका २०७९ अष्ट्रेलिया टूरलाई ग्रेस ईन्टरनेशनलले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सरको रुपमा ब्लूबेरी रियल स्टेट मेलबर्न रहेको छ । मेलबर्नमा हुने तीज धमाका २०७९ का लागि सिल्भर स्पोन्सरमा फ्रेश विन्डो टिनटिङ्ग र एड्मायर इन्टरनेशनल एजुकेशन, सह-प्रायोजकमा नेप्सट्रेडिङ्ग, यात्रा-द कनेक्सन, आइसीएस इन्टरनेशनल, हंग्री हाइकर रेष्टुरेन्ट, गुडविल फाइनान्स र होम लोन रहेका छन्। त्यसैगरी फुडस्टल पार्टनरमा आगमन रेष्टुरेन्ट रहेको छ ।