मेलबर्न। रङ्गहरुको पर्व 'होली' नजिकिंदै गर्दा अष्ट्रेलियाको नेपाली समुदायमा पनि होलीको रौनक महसुस हुन थालिसकेको छ। मेलबर्नको नेपाली समुदायमा होली विशेष विभिन्न कार्यक्रमहरुको तयारी सुरु भइसकेको छ।
यसैक्रममा सल्भ एजुकेशन कन्सल्टेन्सी तथा मुस्ताङ प्यालेसले पनि होली विशेष कार्यक्रम आयोजना गर्नेभएका छन्। 'मित्रता तथा सद्भाव बढाऔं, मिलेर होली खेलौं'' भन्ने नाराका साथ होली कार्यक्रमको आयोजना गरिएको हो।
सल्भ एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर बबिन मिश्रले होली नयाँ उमंग र ऊर्जा भर्ने पर्व भएकोले लकडाउन पछिको यो समयमा कार्यक्रमले समुदायमा नयाँ उल्लास ल्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले समुदायमा मित्रता, भाइचारा तथा सद्भाव बढाउंदै खुसी छर्ने आफूहरुको उद्देश्य रहेको बताउनुभयो।
मुस्ताङ प्यालेसका संचालक गोविन्द पाठकले होली कार्यक्रममा रङ्गहरु मात्र नभएर गीत-सगीत, सांस्कृतिक प्रस्तुति, खेल, बार्बिक्यु लगायतका मनोरन्जनात्मक क्रियाकलाप रहने जानकारी गराउनुभयो। उहाँले कोभिडका कारण निराश यो समयमा समुदायमा सकारात्मक ऊर्जा ल्याउन सकीयोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभयो।
होली कार्यक्रम आगामी मार्च १९, शनिबारका दिन दिउँसो २ बजेदेखि ६ बजेसम्म संचालन हुनेछ। आयोजक संस्थाहरुले नेपाली समुदायलाई कोबर्ग लेक रिजर्भमा हुने यस कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
नेपाली पात्रो अनुसार, पहाडी क्षेत्रमा मनाइने होली पर्व यसपटक मार्च १७ मा परेको छ भने तराई क्षेत्रको होली पर्व मार्च १८ मा परेको छ। होली पर्व खासगरी नेपाली तथा भारतीय हिन्दुहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिनमा मनाउने पर्व हो । हिन्दु संस्कृति अनुसार यसको इतिहास त्रेता युगसंग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन् र बिष्णुभक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।