मेलबर्न। अष्ट्रेलियामा जारी १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट फाइनलमा प्रवेश गरिसकेको छ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आफ्नो वार्षिकोत्सवको अवसरमा टुर्नामेन्ट आयोजना गर्दै आएको हो। यस पटकको टुर्नामेन्टमा १० टिम सहभागी रहेका थिए। गत १६ जनवरीदेखि जारी टुर्नामेन्टको फाइनल खेल आगामी आइतबार तय भएको छ।
टुर्नामेन्टको विषयवस्तुमा केन्द्रित रहेर आज हामीले फोटोग्राफर सुवास बस्ताकोटीसंग विशेष कुराकानी गरेका छौं। इलाइट इभेन्टमा आबद्ध बस्ताकोटी मेलबर्नमा फोटोग्राफी तथा भिडियोग्राफीमा सक्रिय हुनुहुन्छ। १७औं न्याभ क्रिकेट टुर्नामेन्टमा समेत उहाँ फोटोग्राफरको आबद्ध हुनुहुन्छ।
फोटोग्राफी क्षेत्रमा कहिलेदेखि आबद्ध हुनुहुन्छ?
नेपालमा हुँदादेखि नै फोटोग्राफी गर्थें। २०१७ मा अष्ट्रेलिया आएँ। त्यसपछि न्याभ क्रिकेट टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती दाईले न्याभ क्रिकेट टुर्नामेन्टमा फोटोग्राफी गर्ने अवसर दिनुभयो। विदेशमा आएर पनि आफ्नो रुची र क्षमतालाई निरन्तरता दिने मौका पाएँ। यसका लागि म न्याभ र विशेष गरी प्रेम राज उप्रेती दाईप्रति आभारी छु।
टुर्नामेन्टको कुन सिजनदेखि फोटोग्राफी सुरु गर्नुभएको हो ?
म टुर्नामेन्टको १४औं सिजनबाट फोटोग्राफी गरिरहेको छु। त्यतिबेला अष्ट्रेलियामा नयाँ थिएँ। भर्खर-भर्खर नेपालबाट आएको थिएँ। साथी मार्फत प्रेम दाईसंग चिनजान भयो र उहाँले ममाथि विश्वास गर्नुभयो। टुर्नामेन्टमा अहिलेसम्म निरन्तर छु। अझै लामो सह-यात्रा गर्न पाइयोस्।
टुर्नामेन्टमा फोटोग्राफी गर्दा कस्ता-कस्ता कठिनाइ झेल्नुपर्ने हुन्छ ?
मूख्य त मौसम हो। मौसम छिनछिनमै परिवर्तन हुन्छ। खेलको फोटोग्राफी गर्दा एक सेकेन्ड, एउटा पल पनि महत्त्वपूर्ण हुन्छ। हरेक कोणबाट हेर्नुपर्ने हुन्छ। तर मौसमले साथ दिंदैन। कठिनाइ भएपनि रमाइलो हुन्छ। आफ्नो समुदायको सबैभन्दा ठूलो इभेन्टमा म पनि एउटा हिस्सा बन्न पाएको छु भन्ने सम्झिंदा गर्व लाग्छ।
टुर्नामेन्टको हरेक खेलको हरेक पललाई नजिकबाट नियाल्ने अवसर पाउनुभएको छ, आफ्नो अनुभव बताइदिनुहोस् न !
यहाँ आएपछि काम र करियरलाई लिएर विद्यार्थीले संघर्ष गर्नैपर्छ। त्यसबीचमा पनि खेलप्रति युवाहरुको लगनशीलता, अनुशासन देखेर अचम्म लाग्छ। नेपालमा त हामीहरु केही काम नगरेको भन्दा पनि हुन्छ, यहाँ त सबै फ़्रस्ट्रेसनमा जान्छन् होला जस्तो लाग्थ्यो सुरुमा मलाई। तर खेलाडीहरुको जोश, मेहनत देख्दा अचम्म लाग्छ। साताभरी काम गरेर थाकेका उनीहरु त्यस दिन चर्को घाम, पानी नभनी आफ्नो शतप्रतिशत दिएर मेहनत गरिरहेका हुन्छन्। समयको अभाव त्यस्तै हुन्छ यहाँ, तर पनि उनीहरु समय मिलाइरहेकै छन्। वास्तवमा भन्दा, टुर्नामेन्टबाट मलाई धेरै प्रेरणा मिलेको छ, धेरै सिक्ने अवसर मिलेको छ।
नेपाली समुदायमा न्याभ टुर्नामेन्टको स्थान कस्तो देख्नुहुन्छ ?
अरु नेपाली इभेन्टभन्दा यस टुर्नामेन्टमा धेरै ठूलो सहभागिता हुन्छ। स्थानीय स्तरका समेत व्यक्तित्वहरु आउनुहुन्छ। यो टुर्नामेन्ट नेपाली समुदायको एउटा परिचय बनिसकेको छ जस्तो लाग्छ। इभेन्ट ठूलो हुँदै गएपछि चुनौती पनि उत्तिकै आउँछन्। संयोजकको रुपमा प्रेम राज उप्रेती दाईले गर्नुभएको मेहनत प्रशंसनीय छ।
टुर्नामेन्टलाई अझ ठूलो बनाउन के गर्नुपर्ला ?
सबैजनाको सहकार्य र सहभागिता हुनुपर्छ। अनि यसलाई बहुसांस्कृतिक टुर्नामेन्टको रुपमा लैजान सकियो भने टुर्नामेन्ट अर्को लेभलमा पुग्नेछ जस्तो लाग्छ।
अन्त्यमा, फोटोग्राफी क्षेत्रमा चुनौती र सम्भावना कस्तो देख्नुहुन्छ ?
म टुर्नामेन्टमा फोटोग्राफी गर्छु, विवाहमा चाहिं भिडियोग्राफी गर्छु। अष्ट्रेलियामा नेपाली समुदाय बढिरहेकोले यहाँ पनि करियरको सम्भावना छ। तर आफू अपडेट भइराख्नुपर्छ। र, व्यवसायिक ज्ञान लिएर मात्र काम गर्नुपर्छ