मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा 'नेपाल फेस्टिवल २०२२' को आयोजना हुनेभएको छ। अष्ट्रेलियामा नेपाली कला,संस्कृति, भाषा, परिकार लगायत नेपाली पर्यटनको प्रबर्द्धनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपाल फेस्टिवलको आयोजना गर्दै आएको छ। नेपाल फेस्टिवल अष्ट्रेलियाका विभिन्न राज्यमा उक्त राज्यको राज्य संयोजक समितिले आयोजना गर्ने गर्दछ। भिक्टोरिया राज्य समितिको आयोजना तथा ब्लुबेरी रियल स्टेटको मूख्य प्रयोजनमा सेप्टेम्बर १० मा नेपाल फेस्टिवल आयोजना हुनेभएको हो।
नेपाल फेस्टिवल मेलबर्न २०२२को डिजिटल कला तथा डिजाइनिङ्ग टास्कफोर्सको नेतृत्व सुधिर शाक्यले गर्नुभएको छ। उद्धमी तथा नाटीद्वारा प्रमाणित नेपाली अनुवादक रहनुभएका उहाँ अष्ट्रेलियाको भिक्टोरियामा रहेका नेपाली संघसंस्थाहरुमा क्रियाशील रहँदै आउनुभएको छ। उहाँ नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को भूतपूर्व अध्यक्ष समेत हुनुहुन्छ। सरलरेखाको 'नेपाल फेस्टिवल मेलबर्न २०२२' विशेष कुराकानीमा कला तथा डिजाइनिङ्ग टास्कफोर्सको नेतृत्व लिनुभएका सुधिर शाक्यले कार्यक्रमको 'लोगो' को परिकल्पना तथा यसले देखाउन खोजेका कुराहरुका बारेमा प्रकाश पार्नुभएको छ।
नेपाल फेस्टिवल मेलबर्न २०२२ को सन्दर्भ नेपाल फेस्टिवल केवल पर्यटन प्रबर्द्धनका लागि मात्र नभई, नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध, अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्ताका लागि आफ्नो मौलिक परिचय र समग्र नेपाली समुदायका लागि आफ्नो मातृभूमीसंग भौतिक दूरीमा रहँदाको भावना सम्बोधन गर्ने एउटा सुन्दर अवसर रहेको शाक्य बताउनुहुन्छ।
नेपाल फेस्टिवल मेलबर्न २०२२ महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ" नेपाल फेस्टिवल मेलबर्न २०२२ कति बृहत् र कति महत्त्वपूर्ण छ भन्ने कुरा फेस्टिवलको चिन्ह (लोगो) मार्फत नै बुझ्न सकिन्छ "। शाक्यका अनुसार, नेपाल फेस्टिवल मेलबर्न २०२२ को चिन्हको माथिल्लो भागमा नेपालको हिमाल, पहाड र तराईका सम्पदा, धार्मिक आस्था तथा सांस्कृतिक विविधता झल्किने चिन्हहरु प्रयोग गरिएको छ। एकातिर त्यसमा नेपाल सम्पदा र संस्कृतिको धनी देश भन्ने बुझाउँछ भने अर्कोतिर नेपालीहरु विविधतामाझ पनि एकता र सद्भावलाई महत्त्व दिन्छौं भन्ने संदेश दिन्छ। त्यसैगरी, दायाँ भागमा अंकित हिमालले नेपाललाई सगरमाथाको देशको रुपमा चिनाउने प्रयास गरिएको छ।
चिन्हमा फरक-फरक तहमा प्रयोग गरिएका झण्डाबारे प्रस्ट्याउँदै शाक्य भन्नुहुन्छ," भौगोलिक हिसाबले नेपाल उत्तरी गोलार्धमा पर्दछ भने अष्ट्रेलिया दक्षिणी गोलार्धमा पर्दछ। त्यसैले नेपाल फेस्टिवलको चिन्हमा नेपालको झण्डा उचाईमा छ भने अष्ट्रेलियाको झण्डा नेपालको झण्डाको सतहभन्दा थोरै तल छ। त्यो दुईलाई जोड्नका लागि एउटा घुमाउरो (कर्भ आकार) धर्का प्रयोग गरिएको छ। त्यो कर्भ आकार नियाल्नुभयो भने त्यसमा अंग्रेजी अक्षर एम (M ) रहेको छ, जसलाई मेलबर्न भनेर बुझाउन खोजिएको हो, अर्थात् मेलबर्नले भौगोलिक रुपमा फरक-फरक गोलार्धमा रहेका यी देशलाई जोडेको छ। "
उहाँ थप्नुहुन्छ,"त्यो कर्भमा नेपाल फेस्टिवल मेलबर्न २०२२ को नारा लेखिएको छ। यो वर्षको नारा 'सेलिब्रटिङ्ग कल्चर, इम्ब्र्यसिंग डाइभरसिटि' अर्थात् 'संस्कृतिको खुसीयाली मनाऔं, विविधतालाई अंगालौं' भन्ने रहेको छ। मेलबर्नवासी हामी नेपाली, मेलबर्नको समग्र बहुसांस्कृतिक समुदायलाई पनि एम अक्षर माथि लेखिएको त्यो नाराले समेट्छ "। त्यसैगरी, लोगोभित्र नेपाल र अष्ट्रेलियाका चिन्ह राखिएको छ। सूर्य-चन्द्रलाई नेपालको चिन्ह तथा साउदर्न क्रसलाई अष्ट्रेलियाको चिन्ह मानिने हुँदा ती चिन्ह प्रयोग गरिएको उहाँले बताउनुभयो। लोगोभित्र किन प्रयोग गरियो भन्ने सम्बन्धमा उहाँले भन्नुभयो, "हामी यहाँका नेपालीले हाम्रो मातृभूमी र यो कर्मभूमीको मायालाई मुटुमा राखेर हिंडेका छौं, यही दर्शाउनका लागि लोगोको 'मुटु क्षेत्र'मा ती चिन्ह राखिएको हो। "