मेलबर्न। अष्ट्रेलियामा नेपाली कला,संस्कृति, भाषा, परिकार लगायत नेपाली पर्यटनको प्रबर्द्धनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपाल फेस्टिवलको आयोजना गर्दै आएको छ। नेपाल फेस्टिवल अष्ट्रेलियाका विभिन्न राज्यमा उक्त राज्यको राज्य संयोजक समितिले आयोजना गर्ने गर्दछ। कोभिडका कारण विगतका वर्षमा स्थगित भएको नेपाल फेस्टिवल यो वर्ष विभन्न राज्यमा आयोजना हुँदैछ।
भिक्टोरिया राज्यको मेलबर्न सहरमा पनि नेपाल फेस्टिवलको आयोजना हुनेभएको छ। ब्लुबेरी रियल स्टेटको मूख्य आयोजनामा सेप्टेम्बर १० मा नेपाल फेस्टिवल आयोजना हुनेभएको हो। कोभिड महामारीले लामो समय नेपाल जान नसक्ने, अष्ट्रेलियामै पनि महोत्सव आयोजना गर्न नसकिने, भेटघाट गर्न नसकिने त्यो अवस्था पछि फेस्टिवल आयोजना हुँदै गरेकाले पनि भिक्टोरियावासी नेपालीमा फेस्टिवल आयोजनाको घोषणाले नयाँ उत्साह देखिएको छ।
'नेपाल फेस्टिवल २०२२ इन मेलबर्न'को यो वर्षको नारा 'सेलिब्रटिङ्ग कल्चर, इम्ब्र्यसिंग डाइभरसिटि' अर्थात् 'संस्कृतिको खुसीयाली मनाऔं, विविधतालाई अंगालौं' भन्ने रहेको छ। सोही नारा अनुरुप फेस्टिवलमा बहुसांस्कृतिक प्रस्तुतिहरु, नेपाली सांस्कृतिक प्रस्तुतिहरु, प्रत्यक्ष सांगीतिक प्रस्तुति, नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुड स्टल रहनेछन्। नि:शुल्क प्रवेशको यो कार्यक्रम फेडेरेसन स्क्वायरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
नेपाल फेस्टिवल पहिलेभन्दा केही फरक र अझ भव्य रुपमा सम्पन्न गर्ने तयारी गरिएको एनआरएनए भिक्टोरिया संयोजक हरि खड्का बताउनुहुन्छ।
सरल रेखासंगको कुराकानीमा उहाँले नेपाल फेस्टिवलको मिति घोषणासंगै नेपाली समुदायमा देखिएको उत्साह र मिलिरहेको साथले आयोजक टिमलाई अझ बढी ऊर्जा मिलिरहेको उल्लेख गर्नुभयो।
नेपाल फेस्टिवल २०२१ को मूख्य प्रायोजक रहेको ब्लुबेरी रियल स्टेट मेलबर्न, रियल स्टेट क्षेत्रमा विश्वनीय सेवाका कारण आफ्नो परिचय स्थापित गर्न सफल व्यवसायिक संस्था हो। विभिन्न माध्यमबाट नेपाली समुदायको हित तथा समृद्धिका निम्ति ब्लुबेरीले सामाजिक संस्थाहरुसंग हातेमालो गर्दै आइरहेको छ