सिड्नी । डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ । डढेलो र खडेरीले थप प्रजातिहरू लोप हुने दिशामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
वातावरणीय अवस्थाको पाँच–वार्षिक प्रतिवेदनले भूमि र समुद्रमा वैज्ञानिकहरूले चित्रण गरेको वनस्पति र जीवजन्तुको ‘खराब र बिग्रँदै गएको’ अवस्थालाई उल्टाउन नाटकीय कार्यको लागि आह्वान गरेको छ ।
२०औं शताब्दीको सुरुदेखि नै अष्ट्रेलियाको औसत जमिनको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस तातो बनाउने जलवायुले क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।
‘दबावलाई पर्याप्त रूपमा व्यवस्थापन गर्न नसक्दा प्रजातिहरू लोप हुने क्रम जारी रहनेछ’ वैज्ञानिकहरूले प्रतिवेदनमा चेतावनी दिएका छन् ।
अष्ट्रेलियाका वातावरणमन्त्री तान्या प्लिबर्सेकले यो ‘चकित पार्ने दस्तावेज’ भएको बताइन् । उनले अगाडि थपिन्, ‘यसले अष्ट्रेलियाको वातावरणमा संकट र गिरावटको कथा बताउँछ’, उनले भनिन् ।
पूर्ववर्ती कन्जरभेटिभ सरकारको नेतृत्वमा डिसेम्बर २०२१ मा रिपोर्ट प्राप्त भए पनि त्यो सार्वजनिक नभएको वामपन्थी लेबर पार्टीका सदस्य प्लिबर्सेकल बताइन् । मे महिनामा अष्ट्रेलियामा निर्वाचन सम्पन्न भएको थियो ।
अष्ट्रेलियामा सन् २०१९ देखि सन् २०२० को ‘बुस फायर’मा ८० लाख हेक्टर भन्दाबढी देशी वनस्पति जलेको र १ देखि ३ अर्ब जनावर मारिएको वा विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।
सन् १९९० यता लाखौं हेक्टर प्राथमिक वन फडानी गरिएको प्रतिवेदनमा उल्लेख छ । अष्ट्रेलियाको वातावरण संरक्षण कानुन मूल्यांकन नगरी सन् २००० र २०१७ को बीचमा खतरामा परेका प्रजातिको ७० लाख हेक्टरभन्दा बढी बासस्थान खाली गरिएको थियो ।
पाँच वर्षमा अष्ट्रेलियाको वातावरणीय कानुनअन्तर्गत खतरामा परेका प्रजातिहरूको सूचीमा राष्ट्रिय महत्वका २०० भन्दा बढी वनस्पति र जनावरका प्रजातिहरू थपिएका छन् ।
‘अष्ट्रेलियाले अन्य कुनै पनि महादेशको तुलनामा धेरै स्तनधारी प्रजातिहरू गुमाएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘नयाँ प्रजातिहरूको संख्या पाँच वर्षमा आठ प्रतिशतले खतरामा परेको छ । ’