मेलबर्न। नेपाली चाडपर्वहरु नजिकिंदै गर्दा अष्ट्रेलियाको नेपाली समुदायमा पनि रौनक थपिन थाल्छ। रङ्गहरुको पर्व होली नजिकिएसंगै अष्ट्रेलियामा होली विशेष इभेन्टहरु घोषणा हुन थालेको छ । छोटो समयमा नै अष्ट्रेलियाको भिक्टोरियावासी नेपाली समुदायबीच स्थापित हुन सफल यात्री हाउस अफ इभेन्ट्सले पनि होली विशेष कार्यक्रम गर्ने भएको छ।
इभेन्ट आयोजना भनेको केवल मनोरन्जन मात्र होइन भन्ने कुरालाई यात्री हाउस अफ इभेन्ट्सले आफ्ना कार्यक्रम मार्फत दर्शाउने प्रयास गरिरहेको छ। सोही अनुरुप यात्री हाउस अफ इभेन्ट्सले होली विशेष कार्यक्रमको भव्य तयारी सुरु गरेको हो।
होली फेस्टिभल धमाका कार्यक्रमका बारेमा यात्रीका निर्देशक प्रकाश काजी थापा भन्नुहुन्छ, "कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने उद्देश्यले केही अगाडीदेखि नै तयारी सुरु गरिसकेका छौं। केवल होली कार्यक्रम मात्र नभएर नेपाली संस्कृति, परम्परा र स्वादको प्रबर्द्धन गर्ने हाम्रो उद्देश्य रहेको छ। र, अर्को उद्देश्य भनेको कोभिडले निराशा छाएको समयमा सबैमा सकारात्मक ऊर्जा थपौं भन्ने हो "। आफूहरुको यो उद्देश्यमा साथ दिएकोमा निर्देशक थापाले कार्यक्रम मूख्य प्रायोजक संस्था एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सी मेलबर्नका डाइरेक्टर सरोज शर्मालाई विशेष धन्यवाद दिनुभयो।
सरलरेखासंगको कुराकानीमा एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सी मेलबर्नका डाइरेक्टर सरोज शर्माले भन्नुभयो," कोभिडका कारण थुनिएर अहिले बाहिर निस्कन पाएका छौं। यो सकारात्मक ऊर्जा ल्याउने, एकआपसमा सद्भाव बाँड्ने समय हो। यसमा रङ्गहरुको पर्व होलीले उल्लास थप्नेछ। र, यात्रीले यिनै कुरालाई समेटेर कार्यक्रमको अवधारणा बनाएको छ। त्यसैले समुदायप्रतिको हाम्रो जिम्मेवारीलाई मनन गर्दै हामी कार्यक्रममा जोडिएका हौँ "।
कार्यक्रमले एउटा पारिवारिक जमघट, सामुदायिक एकता र नेपालीपनको झल्को दिने आयोजक संस्थाले जनाएकोछ। जसअनुसार, बच्चादेखि युवा र वृद्ध अभिभावकसम्मका लागि मनोरन्जनात्मक गतिविधि रहनेछन्। कार्यक्रममा रङ्ग संगै लाइभ डिजे, लाइभ ब्याण्ड, नृत्य प्रस्तुति, नेपाली स्ट्रिट खानाको स्टल, विभिन्न सामुदायिक खानको स्टल र बालबालिकाका लागि फेस पेंटिंग, जम्पिंग क्यासल लगायत विभिन्न रमाइला गतिविधि रहनेछन्।
होली फेस्टिभल धमाका आगामी मार्च १४ (लेबर डे), सोमबारका दिन हुनेछ। पहाडी क्षेत्रमा मनाइने होली पर्व यसपटक मार्च १७ मा परेको छ भने तराई क्षेत्रको होली पर्व मार्च १८ मा परेको छ। त्यसैले सार्वजनिक बिदा परेकोले मार्च १४ लाई होली कार्यक्रमका लागि उपयुक्त दिनको रुपमा चुनिएको यात्रीले जनाएको छ।