होबार्ट। तास्मानियन नेपलीज क्रिकेट एसोसिएसन (टिएनसीए) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। विगतका कार्यक्रमहरुको समिक्षा र नयाँ कार्यसमिति चयनसंगै आइतबार साधारण सभा सम्पन्न भएको हो।
वार्षिक साधारण सभाले नयाँ कार्यसमितिको अध्यक्षमा बाबु न्यौपानेलाई चयन गरेको छ। विभिन्न सामाजिक कार्यहरुमा क्रियाशील न्यौपाने विगत १० वर्षभन्दा बढी समयदेखि तास्मनियामा रहँदै आउनुभएको छ। त्यसैगरी, यति क्रिकेट क्लबका कमल भण्डारी तास्मानियन नेपलीज क्रिकेट एसोसिएसनको आगामी कार्यकालका लागि सचिव पदका लागि चयन हुनुभएको छ।
यसअघि संस्थाको कार्यसमिति अध्यक्षका रुपमा पुनम पन्तले कार्यभार सम्हाल्नुभएको थियो। पन्तकै नेतृत्वको कार्यसमितिले पहिलो टिएनसीए कप आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको थियो। साधारण सभामा निवर्तमान अध्यक्ष पुनम पन्तले गरेका प्रयासहरुको सह्राना गर्दै आभार व्यक्त गरिएको थियो। कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष पन्तले आफ्नो कार्यकालमा सबैको साथ तथा सहयोग प्राप्त भएको बताउंदै सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी कार्यसमिति तथा संस्थाको सहयोगका लागि आफू सधै तयार रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा विगतका कार्यक्रमहरुको समिक्षा तथा आगामी योजनाहरुका बारेमा छलफल गरिएको थियो। खेलाडीहरुको बीमा सुरक्षा, टिएनसीए कपको निरन्तरता, ओसनिया नेपाली स्पोर्ट्स मिटमा सहभागिता लगायत विषयमा कार्यक्रममा चर्चा तथा छलफल गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बाबु न्यौपानेले सबैको अपेक्षा अनुरुप संस्थालाई अगाडी बढाउनका लागि पूराना कार्यक्रमको निरन्तरता र नयाँ कार्यक्रमको सुरुवात गरिने बताउनुभयो। संस्थाको अध्यक्ष पदले समुदायप्रति थप जिम्मेवार महसुस गराएको उल्लेख गर्दै उहाँले सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो।
तास्मानियन नेपलिज क्रिकेट एशोसियसन (टिएनसीए) २०१९ मा स्थापना भएको थियो। प्रकाश उप्रेती संस्थापक अध्यक्ष रहनुभएको संस्थाले सुरुवातमै कोभिड महामारीको सामना गर्नुपरेका कारण खेल सम्बन्धि कार्यक्रमहरु गर्न सकेन। यद्दपी संस्थाले कोभिड महामारीको सामना गर्नका लागि विद्यार्थी लगायत नेपाली समुदायका निम्ति ठूलो भूमिका खेलेको थियो। निवर्तमान अध्यक्ष पुनम पन्तका अनुसार, त्यतिबेला नेपाली युवाहरुलाई खाद्यान्न वितरण गर्नका लागि संस्थाले राज्य सरकारबाट १० हजार डलर सहयोग समेत प्राप्त गरेको थियो।
कोभिड महामारीको लकडाउन पछि संस्थाले गत अप्रिल महिनामा टिएनसीए टी-ट्वान्टी लिग २०२२ को आयोजना गर्यो। टिएनसीए टी-ट्वान्टी लिग २०२२ मा ६ टिम सहभागी थिए। संस्थासंग आबद्ध खेल क्लबको संख्या हाल ८ पुगिसकेको छ। यससंगै विभिन्न व्यावसायिक र सामाजिक संस्थाले पनि टिएनसीएसंग हातेमालो गरिरहेका छन्।