लन्चेष्टन। अष्ट्रेलियामा जुलाईको २२ तारिखदेखि धमाका २०७९ सुरु हुँदैछ। नेपालका लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम अष्ट्रेलियाका ७ सहरमा आयोजना हुनेछ। सांगीतिक प्रस्तुति र हाँस्यव्यंग सहितको यो कार्यक्रमलाई केबिसी अष्ट्रेलियाले आयोजना गरेको हो।
धमाका २०७९ मा नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा, नेपाली संगीत आकाशकी चर्चित गायिका रचना रिमाल, हाँस्यव्यंग्य विधामा आफ्नै छुट्टै पहिचान बनाउन सफल सुवोध गौतम र काकु चरित्र मार्फत हाँस्यविधामा अमिट छाप छोड्न सफल दिपक आचार्यको विशेष प्रस्तुति रहनेछ । तीजको पूर्वसन्ध्यामा आयोजना हुन लागेकोले केही शहरहरुमा कार्यक्रमलाई तीज धमाका २०७९ को रुपमा पनि सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम अष्ट्रेलियाको पर्थ, तास्मानियाको लन्चेष्टन, मेलबर्न, ब्रिसबेन, सिड्नी, राजधानी क्यानबेरा र एडिलेडमा हुनेछ। तास्मानियाको लन्चेष्टनमा हुने कार्यक्रमका लागि टिकट बुकिङ्ग खुल्ला भइसकेको छ। लन्चेष्टनमा आगामी जुलाई २४ मा कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा अतिथि कलाकारहरुका साथमा डिजे उज्ज्वल र हृदय दाहालको पनि प्रस्तुति रहनेछ। धमाकेदार प्रस्तुतिहरु सहितको यो कार्यक्रममा सहभागिताका लागि यहाँ क्लिक गरी टिकट बुकिङ्ग गर्न सकिन्छ।
कार्यक्रमलाई व्यवस्थित तथा सहभागितामूलक बनाउनका लागि केविसी अष्ट्रेलियाले स्थानीय नेपाली सामूदायिक संघसंस्था र ईभेन्ट अर्गनाईजरहरुसँग सहकार्य गरेको छ । कार्यक्रममा अष्ट्रेलियामा शैक्षिक परामर्श प्रदान गरिरहेको ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज र मेलबर्नमा केन्द्र रही रियलस्टेटको क्षेत्रमा अमिट छाप छोड्न सफल ब्लूबेरी रियलस्टेटले प्रायोजन गरेका छन् ।
केविसी अष्ट्रेलियाले आफ्नो सामूदायिक दायित्वलाई बहन गर्दै यस पटकको यो कन्सर्टमध्ये ब्रिसबेनको कन्सर्टबाट प्राप्त हुने सबै रकमलाई त्यहाँ नेपाली समूदायले बनाउन लागेको बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सहयोग गर्ने निर्णय गरिएको जनाएको छ। ब्रिसबेनको कार्यक्रम मुख्यतः यही सांस्कृतिक केन्द्र बनाउने अभियानको फन्डरेजिंगका रुपमा मनोरञ्जनात्मक कार्यक्रमकाबीच सञ्चालन हुने बताइएको छ ।