मेलबर्न। पछिल्लो समय अष्ट्रेलियाका अधिकांश कन्सल्टेन्सीहरुले आरपीएल सर्टिफिकेट सम्बन्धि विज्ञापन गरिरहेको देख्न सकिन्छ। पढाइ बिना नै सर्टिफिकेट प्राप्त हुने कुराले विद्यार्थीहरु आकर्षित पनि भइरहेका छन्। वास्तवमा आरपीएल सर्टिफिकेट भनेको के हो, यो कसरी प्राप्त गर्न सकिन्छ, यसका फाइदा के छन् लगायत विषयमा आज हामीले रजिस्टर्ड माइग्रेसन एजेन्ट सन्तोष कर्णसंग विशेष कुराकानी गरेका छौं। उहाँ डाँफे कन्सल्टिंग मेलबर्नका डाइरेक्टर समेत हुनुहुन्छ।
कुराकानीको सम्पादित अंश:
कोही व्यक्ति आफूले गर्ने कामको क्षेत्रमा औपचारिक पढाइ गरेको छैन। तर उसलाई त्यो कामको राम्रो अनुभव छ, ऊ व्यवसायिक रुपमा काम गर्न सक्षम छ। यस्तो अवस्थामा उसलाई औपचारिक पढाइ बराबरकै मान्यताको प्रमाणपत्र प्रदान गरिन्छ। त्यसलाई आरपीएल (Recognition of Prior Learning) भनिन्छ।
आरपीएल सर्टिफिकेटका फाइदाहरु:
पहिलो त, औपचारिक पढाइ बिना नै कामको अनुभवको आधारमा सर्टिफिकेट प्राप्त हुन्छ।
आरपीएल सर्टिफिकेट प्राप्त भइसकेपछि औपचारिक पढाइ प्राप्त कामदारकै बराबरीमा तलब सुविधा उपलब्ध हुन्छ।
अगाडी पढ्नको लागि पनि यो सर्टिफिकेट मान्यता प्राप्त सर्टिफिकेट हो। यो सर्टिफिकेटले पढाइलाई निरन्तरता दिन सहयोग गर्छ।
सम्पूर्ण नियम पालना गरेर लिइएको आरपीएलले माइग्रेसनमा पनि सहयोग पुग्छ। (माइग्रेसनमा कोर्स र पेशा अनुसार नियम फरक-फरक हुन्छ)।
एक तहको औपचारिक पढाइ छ र त्यसपछि कामको अनुभव छ भने त्यो कामको अनुभवबाट आरपीएल लिएर अर्को तहको औपचारिक पढाइ सरह मान्यता प्राप्त गर्न सकिन्छ। जस्तो कि, एज्ड केयरमा काम गर्ने सर्टिफिकेट थ्रीको व्यक्तिले त्यहाँको कामको अनुभव पश्चात सर्टिफिकेट फोर्थ प्राप्त गर्न सक्छ।
पछिल्लो समय आरपीएल सर्टिफिकेटलाई लिएर विभिन्न झुटा जानकारी र सुविधा प्रदान भइरहेका छन्। कामको अनुभव नभएको विद्यार्थी, जो नेपालबाट भर्खर मात्र अष्ट्रेलिया आएको छ र सम्बन्धित क्षेत्रमा नेपालमा पनि उसले काम गरेको छैन, त्यस्तो विद्यार्थीलाई आरपीएल दिइराखिएको छ। यो सरासर गलत हो।
विद्यार्थीले यी कुरा बुझ्नु जरुरी छ:
- आरपीएल सम्बन्धि निश्चित मापदण्ड हुन्छ र त्यो पूरा गरेपछि प्राप्त मात्र सर्टिफिकेट लिनुपर्छ।
- कामको अनुभव बिना नै आरपीएल सर्टिफिकेट लिएर काम गर्ने क्रममा तपाईंबाट गल्तीले कुनै दुर्घटना भयो भने तपाईं अपराधिक कार्यसंग जोडिनुहुन्छ।
- त्यस्तो सर्टिफिकेटले भिसामा नै समस्या उब्जाउन सक्छ।
- पछिल्लो समय भिसा प्रक्रियामा आरपीएल सर्टिफिकेट सम्बन्धि अनुसन्धान हुन थालेको छ। पीआर प्राप्त गर्ने क्रममा या कुनै भिसाका लागि अनुसन्धान भयो भने तपाईं समस्यामा पर्नुहुन्छ।
(अष्ट्रेलिया भिसा तथा करियर सम्बन्धि जिज्ञासा भएमा यहाँ क्लिक गरी जिज्ञासा राख्न सक्नुहुनेछ। माथि उल्लेखित जानकारीहरु सामान्य जानकारीहरु हुन्, सबै केसमा यी जानकारी उपयोगी नहुन सक्छन्। त्यसैले, रजिस्टर्ड परामर्शदातासंग सरसल्लाह लिन अनुरोध गर्दछौं। यदि डाँफे कन्सल्टिङ्गमा सम्पर्क गर्न चाहनुहुन्छ भने डाँफे कन्सल्टिंगका कार्यालयहरु नेपालमा चितवन र काठमाडौंमा तथा अष्ट्रेलियामा मेलबर्न र सिड्नीमा रहेका छन्। )