मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा १७औं न्याभ क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। गत १६ जनवरीदेखि सुरु टुर्नामेन्ट नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आयोजना गरेको हो। न्याभ भिक्टोरियावासी नेपालीहरुको पूरानो संस्था हो। आफ्नो वार्षिकोत्सवको अवसरमा टुर्नामेन्ट आयोजना गर्दै आएको न्याभले यस वर्ष रजत जयन्ति मनाउँदै छ।
न्याभ टुर्नामेन्टमा नेपाली समुदायका अगुवा, विद्यार्थी, खेलाडी, व्यवसायी लगायत स्थानीय स्तरका व्यक्तित्वहरुको पनि सहभागिता रहन्छ। यही बृहत् न्याभ क्रिकेट टुर्नामेन्टमा केन्द्रित रहेर आज हामीले चाण्ड्लर आरटिओका सीईओ वसन्त बगालेसंग विशेष कुराकानी गरेका छौं।
चाण्डलर आरटिओको मूख्य कार्यक्षेत्रबारे बताइदिनुहोस् न !
चाण्डलर आरटिओ संचालनमा आएको दुई वर्ष भयो। यहाँ एज्ड केयर तथा डिसएबिलिटि कोर्स पढाइ हुन्छ। सैद्धान्तिक पढाइसंगै प्लेसमेन्ट पनि गरिन्छ। यो क्षेत्रमा अष्ट्रेलियामा राम्रो करियर रहेको छ, जसले गर्दा विद्यार्थीहरुको आकर्षण पनि बढिरहेको छ। विद्यार्थीहरुलाई सही ज्ञान प्रदान गर्दै उनीहरुको करियर अगाडी बढाउन मार्गनिर्देशन गरौँ भन्ने नै हाम्रो मूख्य उद्देश्य हो। प्लेसमेन्टमा हामीले जति विद्यार्थीहरु पठाइरहेका छौं, त्यहाँबाट राम्रो प्रतिक्रिया आइरहेको छ। एज्ड केयर सेन्टरले विशेषगरी नेपाली विद्यार्थीलाई मन पराएको, उनीहरुलाई प्राथमिकतामा राखेको पाइरहेका छौं, गर्व लाग्छ।
एज्ड केयरमा काम गर्ने विद्यार्थीहरुका लागि कोर्स नै आवश्यक हुन्छ कि कुनै तालिम मार्फत पनि काम गर्न पाउँछन् ?
विद्यार्थीहरु यस क्षेत्रमा धेरै आकर्षित भइरहेकोले पैसा बनाउने होडमा केही दिनमै सर्टिफिकेट दिनेहरुको बिगबिगी चलिरहेको छ। तर यस क्षेत्रमा करियर बनाउनका लागि कोर्स राम्रोसंग पूरा गरेको हुनैपर्छ। केही दिनमै सर्टिफिकेट लिएर काम गर्दै हुनुहुन्छ भने, उक्त सर्टिफिकेटले भविष्यमा तपाईंलाई अप्ठ्यारो पार्नेछ। केही दिन पैसा त कमाउनुहोला, तर तपाईं आत्मविश्वासी रुपमा काम गर्न सक्नुहुन्न। र, त्यसरी सर्टिफिकेट लिएका केहीले काम गर्न नसकेर छोडेका छन् भने केहीलाई केयर सेन्टर निकालेका पनि छन्। त्यो पर्याप्त ज्ञान नहुँदाको परिणाम हो। त्यसैले विद्यार्थीलाई सजग रहन अनुरोध गर्छु। छोटो बाटो नरोज्नुस्, चाण्ड्लर होस् या अरु कुनै ठाउँबाट भएपनि कोर्स गरेर मात्र काम गर्नुस्।
न्याभ टुर्नामेन्टको कुरा गर्दा, टुर्नामेन्टमा कहिलेदेखि आबद्ध हुनुहुन्छ ?
न्याभ टुर्नामेन्टमा हामी प्रायोजक संस्थाको रुपमा रहेका छौं। गत वर्षदेखि जोडिएका हौँ। गत वर्ष को-पार्टनर थियौं भने अहिले प्लाटिनम पार्टनरको रुपमा रहेका छौं। समुदायको बृहत् टुर्नामेन्टमा यसरी आबद्ध हुन पाउँदा निकै हर्षित छौं।
नेपाली समुदायमा न्याभ टुर्नामेन्टको स्थान कस्तो देख्नुहुन्छ ?
न्याभ क्रिकेट टुर्नामेन्ट केवल एउटा खेल खेल्ने ठाउँ मात्र नभएर सिंगो समुदायलाई एकताबद्ध गर्ने स्थान, नयाँ पुस्तालाई समुदायसंग जोड्ने पुल बनिरहेको छ। न्याभले गर्दै आएको यो प्रयास निकै सह्रानीय छ। न्याभको यो प्रयासमा हामीले पनि साथ दिनुपर्छ। टुर्नामेन्टमा गरेको प्रायोजनलाई मैले व्यवसायिक रुपले नभई समुदायप्रतिको आफ्नो कर्तव्यको रुपमा लिन्छु।
न्याभ टुर्नामेन्टले नेपाली युवाहरुको खेल सपनामा कसरी सहयोग गर्न सक्छ जस्तो लाग्छ ?
यो १७औं न्याभ क्रिकेट टुर्नामेन्टमा १० टिम सहभागी छन्। नयाँ टिम र नयाँ खेलाडी हरेक वर्ष थपिएका छन्। यहाँ आएर आफ्नो रुचीलाई बिर्सनुपर्ने अवस्थामा युवाहरुले त्यही रुचीलाई पछ्याउँदै अगाडी बढ्ने सम्भावना पाएका छन्। युवाहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने मैदान पाएका छन्। यसले युवाहरुको शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पारिरहेको छ।
न्याभ टुर्नामेन्टलाई अझै बृहत् बनाउन के गर्नुपर्ला ?
टुर्नामेन्ट हरेक वर्ष ठूलो हुँदै गएको छ, सहभागिता बढिरहेको छ। महामारीको अहिलेको अवस्थामा पनि टुर्नामेन्ट यति सहभागितामूलक र व्यवस्थित बनेको छ। टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती र उहाँले गर्नुभएको टिमको मेहनत प्रशंसनीय छ। यही गतीले जाने हो भने आगामी वर्षहरुमा टुर्नामेन्ट बृहत् बन्दै जानेछ भन्ने कुरामा म विश्वस्त छु।
अन्त्यमा, अष्ट्रेलियामा नेपाली व्यवसायीहरुका लागि चुनौती र अवसरहरु के-के छन् ?
चुनौती जहाँ पनि हुन्छ। ठाउँ अनुसार चुनौती फरक-फरक हुन्छन्। यहाँको चुनौती भनेको आफ्नो समुदायभित्रको व्यवसायिक प्रतिस्पर्धा र अन्य समुदायमा स्थापित हुनु हो। स्वस्थ प्रतिस्पर्धा, मेहनत, दृढ संकल्प र लगनशीलता हुने हो भने यी चुनौती गौण बन्छन्। र, यहाँ अवसर धेरै छ।