सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले महिला दिवस विशेष कार्यक्रमको आयोजना गर्नेभएको छ। एनआरएनए अष्ट्रेलिया अन्तगर्तको नारी निकुञ्जले यस वर्ष अष्ट्रेलियन्स फर वुमन'स हेल्थ र रोटरी पासपोर्ट मेलबर्नसंगको सहकार्यमा कार्यक्रम आयोजना गर्ने भएको हो।
महिला सहभागिता, नेतृत्व विकास साथै मातृभूमी नेपालमा रहेका महिलाहरुको स्वास्थ्य तथा आर्थिक-सामाजिक सशक्तिकरणका लागि नारी निकुञ्ज अष्ट्रेलियाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। नारी निकुञ्जको कार्य तथा उद्देश्यबारे प्रष्ट पार्दै एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाकी राष्ट्रिय संयोजक मन्जु खड्का भन्नुहुन्छ, 'नेपाली महिलाहरुको नेतृत्व विकास तथा महिला सरोकारका विषयमा जनचेतनामूलक र परोपकारी कार्यक्रम मार्फत नेपाल तथा अष्ट्रेलियामा रहेका समग्र महिलाहरुको हितका लागि सहजीकरण गर्नु नारी निकुञ्जको उद्देश्य हो। र, हामी विभिन्न कारणले प्रवासमा आएर रहेतापनि आफ्नो जन्मभूमी नेपालका आमा, दिदी बहिनीहरुको दु:खमा मल्हम लगाउन चाहन्छौं, हामी उहाँहरुको सुखी र समुन्नत जीवनका लागि हातेमालो गर्न चाहन्छौं। यही उद्देश्य तथा चाहना अनुरुप नै नारीनिकुञ्जले आफ्ना कार्यक्रमहरुलाई प्रभावकारी बनाउँदै लगेको छ, जसमा हरेक वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मनाइने कार्यक्रमहरु पनि पर्दछन् "।
यस वर्ष नारी निकुञ्ज अष्ट्रेलियाले नेपालको ग्रामिण भेगमा महिला तथा बालबालिकाका लागि अस्पताल निर्माण योजनाको सहयोगार्थ कार्यक्रम गर्दैछ। कार्यक्रमका बारेमा संयोजक खड्का बताउनुहुन्छ, "यसपटक अन्तर्राष्ट्रिय नारी दिवसको नारा 'ब्रेक द बायस' भन्ने छ। हाम्रो नेपाली समाजमा कति महिलाहरु आङ खस्ने लगायतका विभिन्न यौन तथा प्रजनन रोगहरुबाट पिडित हुनुहुन्छ, तर सहज रुपले उपचार पाउनुहुन्न। र, कतिपय अवस्थामा त्यही कारणले घर परिवार तथा समाजबाट अपहेलित पनि हुनुभइरहेको छ। यसै कुरालाई मध्यनजर गर्दै हामीले महिला तथा बालबालिकाका लागि निर्माण हुने विशेष अस्पतालका लागि सहयोग गर्ने निर्णय गरेका हौँ। कार्यक्रमको यो सुन्दर उद्देश्य सफल पार्नका लागि सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गर्दछु "।
उहाँका अनुसार, दोलखाको चरिकोटमा उक्त अस्पताल बन्दैछ। अस्पताल निर्माण योजनाको सुरुवात अष्ट्रेलियाकै चिकित्सक रे हड्सन ले गर्नुभएको हो। रे हड्सन ले विगत एक दशक देखि नेपालमा महिला स्वास्थ्यका लागि काम गर्ने तथा दुर्गम क्षेत्रमा उपचार शिविर संचालन गर्ने गर्दै आउनुभएको छ। हड्सन आबद्ध अष्ट्रेलियन्स फर वुमन'स हेल्थले महिला स्वास्थ्यका लागि विशेष कामहरु गर्दै आएको छ।
महिला स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिने नारी निकुञ्जले हालसम्म पाठेघर सम्बन्धि समस्या भएका नेपालका पाँच सयभन्दा बढी महिलालाई सहयोग गरिसकेको छ। संस्थाले गत वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिनावारी सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा शौचालय निर्माण अभियानका लागि आर्थिक सहयोग गरेको थियो।
यस वर्षको कार्यक्रम आगामी मार्च ५, शनिबारका दिन हुनेछ। कार्यक्रम न्यू साउथ वेल्सको रकडेल स्थित इन्द्रेणी फनसन सेन्टरमा बिहान १० बजेदेखी दिउँसो १ बजेसम्म संचालन हुनेछ। साथै नारी निकुञ्जले भिक्टोरिया, पश्चिम अष्ट्रेलिया र एडिलेड लगायत राज्य तथा सहरहरुमा पनि नारी दिवस विशेष कार्यक्रमहरुको आयोजना गरेको छ।