काठमाडौं। अस्ट्रेलियामा एक क्याफेमा कार्यरत नेपाली युवामाथि अनुहारमा तातो कफी प्रहार भएको छ।
युवतीमाथि भएको दुर्व्यवहार रोक्न खोज्दा अस्ट्रेलियाको सिड्नीस्थित एक क्याफेमा काम गर्ने ललितपुरका सुमन धितालमाथि ग्राहकले तातो कफी छ्यापेका हुन्।
कफी पिउन आएका पुरुष ग्राहकले अर्की युवती ग्राहकलाई दुर्व्यवहार गरेका थिए। सो दुर्व्यवहार रोक्न खोजेका सुमनको अनुहारमा दुर्व्यवहार गर्ने पुरुष ग्राहकले तातो कफी छ्यापेर भागेका हुन्।
तातो कफीको असरका कारण सामान्य घाइते भएका सुमनको अवस्था सामान्य छ। तत्कालै चिसो पानीमा अनुहार डुबाएका कारण धेरै क्षति हुन नपाएको सुमनले बताएका छन्।
सुमनले भने, ‘‘म क्याफेमा काम गर्दै थिए। एक पुरुष ग्राहक आए। उनले कफी अर्डर गरे। केही बेरपछि अर्की युवती ग्राहक आइपुगिन्। पछि आउने युवतीलाई पहिला आएका पुरुषले घुरेर हेर्न थाले। युवतीले अफ्ठेरो मानिरहेकी थिइन्। दुवै जनालाई मैले कफी दिएँ। पुरुष ग्राहकले आफू र ती युवतीले लिएको कफीको समेत पैसा दिए। उहाँले दिएको पैसा लिउँ कि नलिऊ भनेर मैले ती युवतीलाई सोधेँ। तर, ती युवतीले आफ्नो कफीको पैसा आफै तिर्ने बताइन्। मैले ती पुरुषले लिएको कफीको मात्रै पैसा लिए। तर, ती पुरुषले जबरजस्ती युवतीको पनि पैसा लिन भन्यो। तर, मैले मान्दै मानिनँ । अनि त्यो पुरुषले रिसाएर मलाई अश्लील गाली गर्यो। ती पुरुषले युवतीलाई पनि गाली गरे। हात हाल्नै खोजेका थिए। म बाहिर रोक्न बाहिर निस्कन लागेको थिएँ। उसले आफ्नो हातमा भएको तातो कफी मेरो अनुहारमा छ्याप्यो, र भाग्यो । मेरो, कान, नाक, आँखा सबैतिर तातो कफी पर्यो। मैलै तत्कालै चिसो पानीले अनुहार धोएँ।’’
सीसीटीभीमा कैद भएको सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। कफी छ्याप्ने पुरुषको पहिचान भएको छ। उनीविरुद्ध पीडित सुमन धिताले प्रहरीमा उजुरी दिएका छन्।