मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा मन्दिर र गुम्बा सहितको आफ्नै सामुदायिक भवन बनाउने नेपाली समुदायको पहल सफल हुनेभएको छ। मन्दिर र गुम्बा सहितको सामुदायिक भवन निर्माणका लागि डिगर्स रेस्टमा १०० डण्कन्स लेनको १५ एकड जग्गा खरिद गरिएको छ। उक्त जग्गामा पूजाआजा तथा त्यस सम्बन्धि कार्य गर्नका लागि स्थानीय काउन्सिलले अनुमति प्रदान गरेसंगै मन्दिर र गुम्बा सहितको सामुदायिक भवन बन्ने पक्का भएको हो।
नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष राजेश आचार्यले गत जुन २ तारिखमा काउन्सिलले अनुमति प्रदान गरेको जानकारी गराउनुभयो। त्यसका लागि काउन्सिलले केही शर्तहरु राखेको छ, ती शर्तहरु पालना गरी मन्दिर र गुम्बा स्थापना गर्न सकिनेछ र सानातीना भेला जमघटहरु गर्न सकिनेछ। यी आगामी कार्यका लागि दाता र समग्र नेपाली समुदायको साथ आवश्यक रहेको अध्यक्ष आचार्यले बताउनुभयो।
भिक्टोरियाको नेपाली समुदायले अष्ट्रेलियन नेपलीज बहुसांस्कृतिक केन्द्र स्थापना गरी भवन निर्माण आयोजनाको काम गरिरहेको छ। आगामी कार्यका लागि सहयोग संकलन गर्न अष्ट्रेलियन नेपलीज बहुसांस्कृतिक केन्द्रले आगामी २५ जुनमा गाला डिनरको आयोजना गरेको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि रहने संस्थाले जनाएको छ। संस्थाका अनुसार, सपरिवार सहभागी हुन सकिने यो कार्यक्रम मनोरन्जनात्मक हुनेछ।
हालसम्म ११ सय भन्दा बढी नेपालीहरु बहुसांस्कृतिक केन्द्रको सदस्य बनिसकेका छन् । कार्यक्रममा नयाँ सदस्यताका लागि पनि प्रक्रिया खुल्ला गरिनेछ। इच्छुक व्यक्तिहरुले आजीवन सदस्यता लिएर सामुदायिक भवन निर्माणका लागि योगदान गर्न सक्नुहुनेछ। त्यसैगरी, गाला डिनरको टिकट मार्फत संकलित रकम भवन निर्माणकै लागि जानेछ।
सामुदायीक भवन निर्माण आयोजनालाई पूर्ण रुप दिने उद्देश्यका साथ आयोजित गाला डिनरमा उत्साहजनक सहभागिताका लागि सल्लाहकार, दाता, स्वयंसेवक, सदस्य लगायत सम्पूर्णलाई एएनएमसीले हार्दिक अनुरोध गरेको छ। कार्यक्रम थनबारी थिएटरमा साँझ ५ बजेदेखि राती ९ बजेसम्म संचालन हुनेछ।
सहभागिताका लागि यो लिंकमा गएर आफ्नो सिट सुरक्षित गर्न सकिनेछ :
https://www.trybooking.com/events/landing/904785?fbclid=IwAR3COsxm1CznyOaEC5qPNAuhEVmFq0HGnDkWFwocBetXQvfuhrIQdyrewhY