मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियाको नेपाली समुदायमा यतिबेला क्रिकेट पर्व चलिरहेको छ। गत १६ जनवरीदेखि सुरु १७औं ग्रेस क्रिकेट न्याभ टुर्नामेन्टले समुदायमा क्रिकेटको रौनक छाएको हो।
भिक्टोरियामा बसोवास गर्ने नेपालीहरुको पूरानो संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आफ्नो वार्षिकोत्सवको अवसरमा न्याभ क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आएको छ। यो वर्ष रजत जयन्ती मनाउंदै गरेको न्याभले आयोजना गरेको टुर्नामेन्टको यो १७औं सिजन हो, जसमा ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ। १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्टमा दश टिम सहभागी छन्।
न्याभले रजत जयन्ति मनाउँदै गरेका कारण यसपटकको टुर्नामेन्ट अझ बढी उल्लासपूर्ण भएको छ। त्यसमा पनि च्यारिटी म्याच यस टुर्नामेन्टको आकर्षण बनेको छ। न्याभ टुर्नामेन्ट संयोजन समितिले नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) निर्माण सहयोगार्थ टुर्नामेन्टकै बीचमा च्यारिटी म्याचको आयोजना गरेको हो। भिक्टोरियामा नेपाली समुदायको आफ्नै बहुसांस्कृतिक केन्द्र निर्माणका लागि प्रक्रिया चलिरहेको छ, जसमा पशुपति र स्वयम्भु सहितको भवन निर्माणको योजना रहेको छ।
एएनएमसी सहयोगार्थ च्यारिटी म्याच अन्तर्गतका खेलहरु २० फेब्रुअरी अर्थात् आइतबार हुँदैछन्। च्यारिटी म्याचमा ६ टिम सहभागी हुने न्याभ टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीले जानकारी गराउनुभयो। खेलहरु टि-टेन अन्तर्गत रहने समेत उहाँले बताउनुभयो। ती मैत्रीपूर्ण खेलमा सामुदायिक तथा व्यवसायिक अगुवाहरुको इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम, आयोजक संस्था न्याभको न्याभ क्रिकेट टिम, रियलस्टेट व्यवसायीहरुको कम्युनिटी रियलस्टेट पायोनियर्स क्रिकेट टिम, शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको कम्युनिटी एजुकेशनल एण्ड एडमिनिस्ट्रेटिभ स्टार्स, एनआरएनए भिक्टोरियाको एनआरएनए भिक्टोरिया लायन्स र उद्धमीहरुको कम्युनिटी नोबेल अन्टरप्रेनयर्स मैदानमा उत्रिनेछन्।
इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिमको कप्तान डेस्टिनि लिभिङ्ग होम्सका सीईओ केशव खत्री हुनुहुन्छ। टिमको व्यवस्थापनमा पण्डित नारायण प्रसाद ज्ञवाली र नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष राजेश आचार्य रहनुभएको छ।
आयोजक संस्था न्याभको न्याभ क्रिकेट टिमको कप्तान प्रेम राज उप्रेती हुनुहुन्छ। उप्रेती न्याभको उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक समेत हुनुहुन्छ। त्यसैगरी, टिमको कोचमा न्याभका सल्लाहकार नारायण काफ्ले हुनुहुन्छ भने व्यवस्थापकमा न्याभका अध्यक्ष राम गुरुङ रहनुभएको छ।
अर्को टिम रियलस्टेट पायोनियर्स क्रिकेट टिममा ब्लुबेरीका बिनित राज शर्मा कप्तान हुनुहुन्छ भने ब्लुबेरीकै कर्ण राना कोच तथा धिरेन्द्र कुँवर व्यवस्थापकको रुपमा हुनुहुन्छ।
त्यस्तै, कम्युनिटी एजुकेशनल एण्ड एडमिनिस्ट्रेटिभ स्टार्स टिममा ग्रेस इन्टरनेशनलका दीपक आचार्य कप्तान रहनुभएको छ। टिमको कोचमा फेन्काका भिक्टोरिया संयोजक भोला गिरि हुनुहुन्छ भने व्यवस्थापनतर्फ कटिङ्ग किङ्ग्स हेयर ड्रेसर सलुनका संजीव कुमार रहनुभएको छ।
एनआरएनए भिक्टोरियाको एनआरएनए भिक्टोरिया लायन्सको कप्तानी एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्काले गर्ने हुनुभएको छ। यो टिमको कोचमा एनआरएनए अष्ट्रेलियाका भूतपूर्व अध्यक्ष टोनु घोथाने तथा सहायक कोचमा एनआरएनए भिक्टोरियाका उप-संयोजक नारायण कटुवाल रहनुभएको छ। एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेलले टिमको व्यवस्थापन सम्हाल्नुभएको छ।
त्यसैगरी, उद्धमीहरुको कम्युनिटी नोबेल अन्टरप्रेनयर्स टिमको कप्तानमा हंग्री आई एशियन फ्युजन एण्ड बारका शंकर थापा रहनुभएको छ। टिमको कोचमा हिमालयन नेपलीज एण्ड इन्डियन रेष्टुरेन्टका लाल प्रसाद कंडेल हुनुहुन्छ भने टिमको व्यवस्थापकमा एपीबी पार्टनर्स फाइनान्स एण्ड बिजनेस एड्भाइजर्सका अर्जुन ढकाल हुनुहुन्छ।
च्यारिटी म्याच अन्तर्गतका खेलहरु दिउँसो १२ बजेदेखि सुरु हुनेछन्। आइतबार, सोही दिनमै न्याभ टुर्नामेन्टका सेमी-फाइनल खेलहरु समेत हुँदैछन्। सेमी फाइनल खेल बिहान ८:३० बजेदेखि सुरु हुनेछ जसमा ग्लोबल इन्टरफेस र एक्स्पर्ट सगरमाथा ब्लुज तथा रोयल राइनोज क्रिकेट क्लब र द हिमालयन क्लब भिड्नेछन् ।