होबार्ट। अष्ट्रेलियाको तास्मानिया आउनुभएका नेपाली अभिभावकलाई वनभोज कार्यक्रमको आयोजना गरिएको छ। प्रवासी नेपाली मंच अष्ट्रेलिया, तास्मानियाले कार्यक्रमको आयोजना गरेको हो। नेपालमा जाडो मौसममा वनभोज जाने प्रचलन रहेको र अहिले अष्ट्रेलियामा जाडो मौसम रहेकोले वनभोज आयोजना गरिएको बताइएको छ।
आयोजक प्रवासी नेपाली मंच अष्ट्रेलियाका केन्द्रिय सचिवालय सदस्य ब्रह्मानन्द मण्डल भन्नुहुन्छ,"मेलबर्न, सिड्नी लगायत सहरको तुलनामा तास्मानियामा नेपाली समुदाय सानो छ र नेपालीहरु यहाँ बसाई सर्न थालेको धेरै समय भएको छैन। यहाँ रहने सदस्यहरु सबै काममा जाने र नेपालीहरु पनि नभेटिने हुँदा यहाँ आउनुभएका आमाबुवाहरु एक्लो महसुस गरिरहनुभएको हुन्छ। आपसी भेटघाट, चिनजान मार्फत उहाँहरुको त्यो एक्लोपलाई केही हदसम्म भएपनि कम गरौँ भन्ने हाम्रो उद्देश्य हो। र, वनभोजले समुदायमा आपसी सद्भाव र मित्रता बढाउन सहयोग गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौं"।
उहाँ थप्नुहुन्छ,"यो वनभोज तास्मानियाको नेपाली समुदायका लागि यस्तो किसिमको पहिलो कार्यक्रम बन्दैछ। तास्मानियाको सबै क्षेत्रलाई समेट्ने गरी वनभोज आयोजना गरेका छौं। यसमा विशेष सहयोगी भूमिका खेल्नुहुने सामाजिक अगुवा आदरणीय पुनम पन्तलाई म विशेष धन्यवाद दिन चाहन्छु। व्यस्तताका बावजुद पनि नेपाली समुदायका लागि उहाँ जसरी लाग्नुहुन्छ, निकै सह्रानीय छ। हामीले समुदायका अन्य सबै व्यक्तित्वहरुबाट पनि कार्यक्रममा सहयोगको अपेक्षा राखेका छौं। सबैले यो प्रयासको प्रशंसा पनि गरिरहनुभएको छ। यो केवल एउटा वनभोज कार्यक्रम मात्र होइन एकता, सद्भाव र स्नेहको भावना पनि हो। कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र सफल बनाउनका लागि अझ के-के गर्न सकिन्छ भन्ने कुरामा सबैको सल्लाह-सुझावको अपेक्षा पनि राखेका छौं। हामी सबैको कार्यक्रम भएकोले एक-आपसमा हातेमालो गर्दै सबैको सल्लाह अनुरुप काम गरौँ भन्ने हाम्रो चाहना हो "।
तास्मानियाको टाढा-टाढाको क्षेत्रबाट आउनेहरुका लागि गाडीको व्यवस्था समेत रहेको आयोजक संस्थाले जनाएको छ। वनभोज कार्यक्रममा अभिभावकसंगै सपरिवार सहभागी हुन सकिनेछ। अभिभावक र बालबालिकाका लागि नि:शुल्क सहभागिताको व्यवस्था गरिएको छ। परिवारका अन्य सदस्यबाट प्राप्त रकम तथा वनभोजमा हुने खर्चको लेखाजोखा पारदर्शी बनाइने र वनभोजको एक हप्तापछि सबै विवरण सार्वजनिक गरिने आयोजक संस्थाले जनाएको छ।
वनभोजलाई थप मनोरन्जक बनाउनका निम्ति हृदय दाहाल, डिजे उज्ज्वल खड्काको सांगीतिक प्रस्तुति रहनेछ भने विभिन्न किसिमका खेल पनि राखिनेछ। वनभोजमा सहभागिताका लागि आगामी जुन १८ सम्म नाम दर्ता गराइसक्नुपर्नेछ। वनभोज आगामी जुन २५ मा हुनेछ। वनभोज सम्बन्धि सुझाव दिनुपरेमा, नाम दर्ताका लागि सहयोग आवश्यकता परेमा नर्थवेस्ट र नर्थ तास्मनियावासीले ०४१५ ३७२ १९२, साउथ तास्मानिया, होबार्ट तथा अन्य क्षेत्रबाट सहभागी हुनेहरुले ०४२६ ४२२ ०५१ र ०४६६ ०६५ ४४७ मा सम्पर्क गर्न सकिने केन्द्रिय सचिवालय सदस्य ब्रह्मानन्द मण्डलले जानकारी गराउनुभयो।
अष्ट्रेलियाका विभिन्न सहर तथा क्षेत्रमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै र समाजसेवाका कार्य संचालन गर्दै आइरहेको प्रवासी नेपाली मंचले यसपछि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ।