मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा भव्यताका साथ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको सम्झनामा मार्च २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवस (एभरेष्ट डे) को रुपमा मनाउने गरिएको छ।
अष्ट्रेलियामा रहेका नेपाली संघसंस्थाको छाता संगठन 'फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया (फेन्का)ले अष्ट्रेलियाका विभिन्न सहरमा सगरमाथा दिवस विशेष कार्यक्रम आयोजना गरेको थियो। सगरमाथासंगै नेपालको पर्यटन प्रबर्द्धन गर्ने, पर्वतारोहणको जानकारी प्रदान गर्ने तथा सगरमाथा सफा राख्ने संदेशका साथमा वातवरणीय सचेतना फैलाउने उद्देश्यले फेन्काले कार्यक्रमको आयोजना गरेको हो। फेन्काको अगुवाईमा मेलबर्नमा पनि भव्यताका साथ सगरमाथा दिवस मनाइएको छ।
कार्यक्रमको सुरुवात मेलबर्न अल्बर्ट पार्कमा ५ किलोमिटर पदयात्राबाट गरिएको थियो। पैदल यात्रामा भिक्टोरीया राज्यका बिभीन्न स्थानबाट लगभग ८० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। पद यात्रामा नेपाल तथा हिमाल झल्किने चित्रकलाहरु पनि राखिएको थियो भने पदयात्रीका हातमा सगरमाथाको चित्र, नेपाली झण्डा र अष्ट्रेलियाको झण्डा फरफराहिरहेका थिए। कार्यक्रमलाई थप सहभागितामूलक, जानकारीमूलक र मनोरन्जनात्मक बनाउनका लागि पदयात्रा पश्चात बार्बेक्युका साथसाथै सगरमाथा हाजीरी जवाफ र भेटघाट तथा फोटो सेसन कार्यक्रम गरीएको थियो।
पैदल यात्रामा नेपाली मूलका नयाँ पुस्ताको पनि उत्साहजनक सहभागिता रहेको थियो। त्यसैगरी,। पदयात्रामा सामुदायिक अगुवा तथा समाजसेवी जोग लिम्बु, नेप्लिज एसोसियसन अफ भिक्टोरीया (न्याभ)का अध्यक्ष राम गुरुङ, मधेसी समाज भिक्टोरियाका अध्यक्ष डा. सुरेन्द्र रौनियार, अष्ट्रेलियन नेपलीज बहुसाँस्कृतीक केन्द्रका अध्यक्ष राजेश आचार्य, मगर समाज अष्ट्रेलियाका मोहन राणा, तमु समाजका तेज गुरुङ, एनआरएनए एससीसीका व्यक्तित्वहरु, नेप्लिज नेवरहुड सोससाईटी एनएनसीआईको कार्यसमिति लगायत व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
पदयात्रा कार्यक्रमको समापन पछि फेन्काले साँझ ६ बजेदेखि भर्चुअल कार्यक्रम आयोजना गरेको थियो। साँझ ६ बजे देखी राती ८ः३० बजे सम्म संचालित कार्यक्रममा सगरमाथाको सामाजिक वातावरणको संरक्षण तथा प्रवर्द्धन गर्दै वर्तमान र भावी पुस्ताका लागि यसको महत्व बुझाउने विषयमा अन्तरक्रिया गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा नास्टका उपकुलपति डा. सुनील बहादुर श्रेष्ठ, वरिष्ठ जलवायु वैज्ञानिक डा. सुरेन्द्र रौनीयार, अष्ट्रेलियन हिमालयन फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत एन्जीला फोर्ड, पर्यावरण वैज्ञानिक डा. गिरी कट्टेल, वातावरण भौतिकवादी प्रोफेसर राम प्रसाद रेग्मी, पर्वतारोही अनीष लुइटेल वक्ताको रुपमा रहनुभएको थियो। कार्यक्रममा अतिथि भिक्टोरियन ऊर्जा तथा वातावरण मन्त्री माननीय लिली डी अम्ब्रोसियोले जलवायु परिवर्तन र त्यसका लागि सरकारबाट भइरहेको पहलकाबारे जानकारी गराउनु भएको थियो।
जुम मार्फत गरिएको अन्तरक्रिया कार्यक्रमको सहजकर्ताको रुपमा डा.राजु अधिकारी रहनुभएको थियो। त्यसैगरी, कार्यक्रमको संचालन फेन्काका भिक्टोरीया संयोजक भोला गिरीले गर्नुभएको थियो भने अध्यक्ष बम योञ्जन कार्यक्रमको सह-अध्यक्ष रहनुभएको थियो।