मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नेपाली सामुदायिक भवन निर्माण आयोजना अगाडी बढिरहेको छ। भिक्टोरियाको नेपाली समुदायले अष्ट्रेलियन नेपलीज बहुसांस्कृतिक केन्द्र स्थापना गरी भवन निर्माण आयोजनाको काम गरिरहेको छ। अष्ट्रेलियन नेपलीज बहुसांस्कृतिक केन्द्रले आगामी २५ जुनमा गाला डिनरको आयोजना गरेको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि रहने संस्थाले जनाएको छ। संस्थाका अनुसार, सपरिवार सहभागी हुन सकिने यो कार्यक्रम मनोरन्जनात्मक हुनेछ।
सरलरेखासंगको कुराकानीमा केन्द्रका अध्यक्ष राजेश आचार्यले भिक्टोरियावासी नेपालीमाझ सामुदायिक भवन निर्माण प्रक्रियाको प्रगति विवरण प्रस्तुत गर्नुका साथै निर्माण आयोजनामा पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँ भन्नुहुन्छ,"सामुदायिक भवन निर्माणको सोंचदेखि यहाँसम्मको यात्राको स्मरण गर्दै सफलता मनाउने उत्सवको रुपमा पनि हामीले यसलाई लिएका छौं। अबको आगामी यात्रामा हामीसबै थप एकताबद्ध र सक्रिय रुपमा अगाडी बढ्ने प्रतिबद्धता पनि कार्यक्रममार्फत झल्किनेछ भन्नेमा हामी विश्वस्त छौं"।
उहाँका अनुसार, कार्यक्रममा नयाँ सदस्यताका लागि पनि प्रक्रिया खुल्ला गरिनेछ। इच्छुक व्यक्तिहरुले आजीवन सदस्यता लिएर सामुदायिक भवन निर्माणका लागि योगदान गर्न सक्नुहुनेछ। त्यसैगरी, गाला डिनरको टिकट मार्फत संकलित रकम भवन निर्माणकै लागि जानेछ। कार्यक्रमबाट संकलित रकम १०० डन्कान्स लेन, डिगर रेस्टमा प्रस्तावित अस्थायी सुविधाहरू निर्माण गर्न प्रयोग गरिनेछ। एएनएमसीले पशुपतिनाथ मन्दिर र बौद्ध गुम्बासहितको सामुदायिक भवन निर्माणका लागि मेलबर्नको उत्तर पश्चिमी क्षेत्र, डिगर्स रेस्टमा १५ एकड जग्गा खरिद गरि प्रक्रिया अगाडी बढाइसकेको छ।
सामुदायीक भवन निर्माण आयोजनालाई पूर्ण रुप दिने उद्देश्यका साथ आयोजित गाला डिनरमा उत्साहजनक सहभागिताका लागि सल्लाहकार, दाता, स्वयंसेवक, सदस्य लगायत सम्पूर्णलाई एएनएमसीले हार्दिक अनुरोध गरेको छ। कार्यक्रम थनबारी थिएटरमा साँझ ५ बजेदेखि राती ९ बजेसम्म संचालन हुनेछ।
सहभागिताका लागि यो लिंकमा गएर आफ्नो सिट सुरक्षित गर्न सकिनेछ :
https://www.trybooking.com/events/landing/904785?fbclid=IwAR3COsxm1CznyOaEC5qPNAuhEVmFq0HGnDkWFwocBetXQvfuhrIQdyrewhY