मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाको आयोजनामा नेपाली बैंकका प्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार नेपालमा लगानीको अवसर तथा अष्ट्रेलियावासी नेपालीका लागि डलर अकाउन्ट विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा हिमालयन बैंक, एनसीसी बैंक, बैंक अफ काठमाडौं,कुमारी बैंक, सीवाईसी नेपालका अध्यक्ष तथा व्यवस्थापकहरु अतिथिका रुपमा सहभागी हुनुभएको थियो।
एनआरएनए भिक्टोरिया संयोजक हरि खड्काले नेपालका स्थापित बैंकका व्यक्तित्वहरुलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाली अर्थतन्त्रसंग जोडिएर अन्तरक्रिया गर्नु पाउनु सबैका लागि राम्रो अवसर रहेको धारणा व्यक्त गर्नुभयो। सरलरेखासंगको कुराकानीमा उहाँले भन्नुभयो," कार्यक्रमले हामीलाई नेपाली अर्थतन्त्रको हालको अवस्था बुझ्नका लागि पनि धेरै सहयोग गर्यो। यो सुन्दर अवसर हामीलाई प्रदान गर्नका लागि कार्यक्रमको संयोजनमा सहयोग गर्नुहुने बिएफआईएनका म्यानिजिंग डाइरेक्टर डा. विनोद आत्रेयप्रति हामी आभारी छौं"।
कार्यक्रममा नेपालमा लगानीका अवसर, हाल नेपाली बैंकहरुमा देखिएको तरलता अभाव, अष्ट्रेलियावासीका लागि डलर अकाउन्ट तथा वैधानिक रेमिट्यान्सका बारेमा छलफल भएको थियो। छलफलका क्रममा बैंकका प्रतिनिधिहरुले डलर अकाउन्टले अष्ट्रेलियावासी नेपालीहरुलाई सहज हुने मात्र नभई नेपाली बैंकहरुलाई पनि सहयोग पुग्ने बताउनुभएको थियो।
अतिथि व्यक्तित्वहरुले डलर अकाउन्ट तथा वैधानिक रेमिट्यान्सले नेपाली बैंकको तरलता अभाव कम गर्नका लागि सहयोग पुग्ने धारणा व्यक्त गर्दै प्रक्रियाका लागि आफूहरु अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, एनआरएनए भिक्टोरियाको आग्रहलाई सम्बोधन गर्दै उहाँहरुले आफूहरु मेलबर्नमा रेमिट्यान्स खोल्नका लागि तयार भएको बताउनुभयो।
कार्यक्रममा नेपालमा लगानीका अवसर तथा अष्ट्रेलिया-नेपाल सम्बन्धका विषयमा समेत छलफल गरिएको थियो। जसमा, नेपाली बैंकहरु अष्ट्रेलियाका प्रमुख बैंकहरुसंग सहकार्य गर्न तयार रहेको बताइएको थियो।
कार्यक्रमका अतिथिहरुले मेलबर्नमा हुनगइरहेको नेपाल फेस्टिभलका बारेमा चासो व्यक्त गर्नुभयो। नेपाली कला, संस्कृति तथा पर्यटनको सम्बर्द्धन र प्रबर्द्धनका लागि एनआरएनए भिक्टोरियाको प्रयासको सह्राना गर्दै उहाँहरुले आफूहरु पनि नेपाल फेस्टिभल २०२२, मेलबर्न सफल बनाउनका लागि हातेमालो गर्न तयार रहेको बताउनुभयो। एनआरएनए भिक्टोरियाले आयोजना गर्ने नेपाल फेस्टिभल २०२२, मेलबर्न आगामी सेप्टेम्बर १० मा हुनेभएको छ।