होबार्ट। अष्ट्रेलियाको तास्मानियामा एनटिएसए महिला तथा पुरुष फुटसल च्याम्पियनसिप हुनेभएको छ। ग्लोबल मार्क एजुकेसन एण्ड भिजा सर्भिसेजको मूख्य आयोजनामा नेपलीज तास्मानिया स्पोर्ट्स एसोसिएसन (एनटिएसए) ले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिता आगामी २८ मेमा हुनेछ।
एनटिएसए फुटसल च्याम्पियनसिपमा पुरुष टिमबीचको प्रतिस्पर्धासंगै महिला टिमहरुबीच पनि प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ११ टिम ट्रफीका लागि भिड्नेछन् भने महिला समूहमा दुई टिम रहेका छन्। प्रतियोगितालाई समावेसी, सहभागितामूलक र महिलाहरुका लागि प्रेरणामूलक पनि बनाउने सोंचका साथ महिला फुटसल च्याम्पियनसिप समावेश गरिएको आयोजक संस्था एनटिएसएका अध्यक्ष विष्णु सापकोटाले बताउनुभयो। साथै प्रतियोगितामा सामुदायिक र व्यावसायिक संस्थाबीच कर्पोरेट कप समेत हुने जानकारी दिंदै उहाँले खेल मार्फत समुदायको एकता तथा समृद्धिमा सहयोग पुर्याउने आफूहरुको उद्देश्य रहेको बताउनुभयो।
एनटिएसएले आयोजना गरेको फुटसल च्याम्पियनसिपको अवधारणाबाट आफू प्रभावित भएको बताउनुहुन्छ, मूख्य प्रायोजक संस्था ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसेजका निर्देशक अरुण चित्रकार। सरलरेखासंगको कुराकानीमा उहाँले भन्नुभयो,"यस्तो कार्यक्रम नेपाली समुदायमा सधै भइराख्नु पर्छ र ग्लोबल मार्क एजुकेसन सधै नेपाली समुदायको यस्ता कार्यक्रममा जोडिन चाहान्छ। यो फुटसल च्याम्पियनसिपमा जति पनि खेलाडी तथा टिम सहभागी हुनुहुन्छ, सबैलाई ग्लोबल मार्कको तर्फबाट शुभकामना दिन चाहन्छु"।
एनटिएसएले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगी टिम तथा पुरस्कार सम्बन्धि जानकारी सार्वजनिक गरेको थियो। विजयी टिमलाई १ हजार डलर र उपविजेता टिमलाई ५ सय डलर नगद पुरस्कारको व्यवस्था रहेको एनटिएसएले घोषणा गरेको छ। त्यसैगरी, फेयर प्ले टिम, टप स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई १००/१०० डलर नगद पुरस्कार प्रदान गरिने बताइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै एनटिएसएका सचिव सुरज श्रेष्ठले मूख्य प्रायोजक संस्था ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसेजप्रति विशेष आभार व्यक्त गर्नुभएको थियो। उहाँले गोल्ड स्पोन्सर द चोक र यस स्टडी वर्ल्ड, सिल्भर स्पोन्सर मुनलाइट मुनलाइन सुपरमार्केट, अवार्ड स्पोन्सर मेभन कन्सल्टिंग ग्रुपलाई धन्यवाद दिंदै सबैको साथ र सहयोगले नै प्रतियोगिता आयोजनाका लागि सहज भएको उल्लेख गर्नुभयो।
मूख्य प्रायोजक संस्था ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेज तास्मानिया लगायत अष्ट्रेलियामा रहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि विश्वसनीय कन्सल्टेन्सीका रुपमा चिनिन्छ।