मेलबर्न । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने हदबन्दी हटाएको छ।
कोरोना कहरले कामदारको चरम अभाव भएपछि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने हदबन्दी हटाएको हो ।
योसँगै विद्यार्थीहरूले अब आफूले चाहेजति काम गर्न पाउने भएका छन्। यसअघि पाक्षिक रूपमा ४० घण्टामात्र काम गर्न पाउने व्यवस्था थियो ।
अस्ट्रेलियन सरकारको मन्त्रिपरिषद् बैठकले पाक्षिक रूपमा ४० घण्टाभन्दा बढी काम गर्न नपाउने नियमलाई अस्थायी रूपमा हटाउने निर्णय गरेको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्।
सरकारको पछिल्लो निर्णयलाई विद्यार्थीले स्वागत गरेका छन्। यसअघि पनि अस्ट्रेलियन सरकारले केही समयका लागि भन्दै अत्यावश्यक सेवाका लागि यस्तै निर्णय गरेको थियो।
सरकारको पछिल्लो निर्णयको विद्यार्थीहरुले स्वागत गरेका छन् । सरकारको पछिल्लो निर्णयले पढाइसँगै काम पनि र पैसा पनि राम्रो हुने विद्यार्थीहरुको अपेक्षा छ ।
यसअघि नै अस्ट्रेलियामा कामदारको चरम अभाव भएपछि सरकारले तत्कालै आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थी र वर्किङ होलिडे भिसामा आउने कामदारको भिसा शुल्क फिर्ता गर्ने निर्णय गरिसकेको छ।
प्रधानमन्त्री स्कट मोरिसनले आगामी आठ साताभित्र अस्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरूले तिरेको भिसा वापतको शुल्क फिर्ता गर्ने घोषणा गरेका हुन्।
विद्यार्थीले भिसा शुल्क बापत करिब ६ सय डलर तिर्ने गरेका छन्।
यस्तै, वर्किङ होलिडे भिसा अन्तर्गत आउनेलाई आगामी तीन महिनाभित्र अस्ट्रेलिया आएमा उनीहरूको पनि भिसा शुल्क फिर्ता गरिनेछ।
यस नयाँ घोषणामार्फत् करिब ५५ मिलियन डलर खर्च हुने सरकारले अनुमान गरेको छ।
यो कार्यक्रम अस्ट्रेलियाभन्दा बाहिर रहेका १ लाख ५० हजार विद्यार्थी र २३ हजार वर्किङ होलिडे भिसामा आउनेलाई लक्षित गरिएको छ।
अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार करिब ६० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत छन्।