मेलबर्न। न्याभको २५औं वार्षिकोत्सव विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले गत अप्रिल ३ तारिखका दिन भव्य समारोह आयोजना गरी आफ्नो रजत जयन्ती मनाएको थियो। सो कार्यक्रमका दौरानमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई विशेष कार्यक्रमको आयोजना गरी न्याभले सम्मानपत्र सहित धन्यवाद ज्ञापन गरेको हो।
न्याभका वर्तमान अध्यक्ष राम गुरुङले सबैको साथ तथा सहयोगले नै रजत जयन्ती भव्य र सफल रुपले सम्पन्न भएको उल्लेख गर्दै त्यो साथको कदर स्वरुप सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले रजत जयन्तीको पूर्वयोजनादेखि नै सबैको साथ मिलेको बताउँदै नेपाली समुदायमा रहेको एकता र सद्भाव कति हदसम्म रहेछ भन्ने महसुस गर्ने अवसर मिलेको समेत उल्लेख गर्नुभयो। अध्यक्ष गुरुङले न्याभ तथा नेपाली समुदायका लागि भिक्टोरियाको बहुसांस्कृतिक समुदाय र स्थानिय सरकारले देखाएको अपनत्वले आफू भावुक बनेको बताउनुभयो।
कार्यक्रममा न्याभका संस्थापक सदस्यहरु, पूर्वअध्यक्षहरु, सल्लाहकार, बहुसांस्कृतिक समुदायका व्यवसायिक व्यक्तित्वहरु, सामुदायिक नेतृत्वकर्ता, प्रायोजक संस्थाहरु, आयोजक टिममा रहेका व्यक्तित्वहरु, कलाकारहरू, संचारकर्मी स्वयंसेवक र न्याभका सदस्यहरूलाई विशेष धन्यवाद दिंदै सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो।
सहभागी व्यक्तित्वहरुले सम्मानका लागि कृतज्ञता व्यक्त गर्दै सामुदायिक काममा सधै आफूहरुको साथ रहने बताउनुभएको थियो।
नेपाली लोकबाजा सारङ्गी वादक पुस्कल गायकको सुमधुर प्रस्तुतिले कार्यक्रम संगीतमय बनेको थियो। त्यसैगरी, कार्यक्रममा बहुसांस्कृतिक समुदायका विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति दिनुभएको थियो। काठमाडौँ कटेजमा सम्पन्न उक्त कार्यक्रमको संचालन मिस अर्थ २०११ की विजेता अनुपमा औरा गुरुङले गर्नुभएको थियो।
न्याभले वार्षिकोत्सवको अवसरमा भिक्टोरियामा नेपाली समुदायको हितमा क्रियाशील संस्था तथा व्यक्तित्वहरुलाई समेत न्याभ अवार्डद्वारा सम्मान गरेको थियो।