मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा एनआरएनए युथ कप टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ। एनआरएनए युथ फोरम र एनआरएनए भिक्टोरियाको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो। टेबलटेनिस प्रतियोगिताको यो तेस्रो सिजन हो।
गत मे १५ तारिखमा सम्पन्न प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, १५ वर्ष मुनिका बालक, १५ वर्ष मुनिका बालिका र ३५ वर्ष उमेर माथि गरी समूहहरु छुट्टाइएको थियो। जसमध्ये १५ वर्ष मुनिका बालक समूहको प्रतिस्पर्धामा प्रभात भट्टलाई पराजित गर्दै सोहम धिताल विजय बने भने १५ वर्ष मुनिका बालिका समूहमा रिजुता श्रेष्ठलाई हराउँदै प्रकृति भट्टले जीत हासिल गरिन्।
त्यसैगरी, महिला खुल्लातर्फ सिमरोन जोशीलाई पराजित गर्दै स्मृति अधिकारी विजयी भइन् भने पुरुष खुल्लातर्फ सतरंज सुवाललाई पराजित गर्दै पियुष अवाल विजयी बने। यता ३५ वर्ष उमेर माथि समूहमा हरि कँडेललाई पराजित गर्दै छवी चौलागाईंले बाजी मारे।
मेक्सीम्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेजको मूख्य प्रायोजनमा आयोजित उक्त प्रतियोगिताका विजयी खेलाडीहरुलाई सोही दिन पुरस्कार वितरण गरिएको थियो। पुरस्कार वितरण कार्यक्रममा एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य, उप महासचिव नारायण काफ्ले, एनआरएनए भिक्टोरीया संयोजक हरी खड्का, उपसंयोजक नारायण कटुवाल, एनआरएनए भिक्टोरीयाका अन्य पदाधिकारीहरु, नेपाली जनसम्पर्क समिती अष्ट्रेलियाका अध्यक्ष बिनीतराज शर्मा, अस्ट्रेलीयन लेवर पाटी टार्नेट शाखाका अध्यक्ष महेश भण्डारी, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोथाने, न्याभका पूर्व अध्यक्ष तारा गैरे, भिक्टोरीयन नेप्लिज कम्युनिटी एसोसियसनका अध्यक्ष सुजीत बस्नेत लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। '
प्रतियोगिता संयोजक ससेन्द्र केसीले सफलता पूर्वक कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण प्रतियोगी, उपस्थित व्यक्तित्व, प्रायोजक संस्थाहरु, स्वयंसेवकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताले युवाहरुका निम्ति थप प्रभावकारी कार्यक्रमहरु आयोजना गर्दै जाने हौसला मिलेको समेत बताउनुभयो। प्रतियोगिताको संचालन एनआरएनए अष्ट्रेलियाका विद्यार्थी सल्लाहकार काउन्सिल राष्ट्रिय सचिव सिद श्रेष्ठले गर्नुभएको थियो भने व्यबस्थापनमा गौरव सुनार गोथाने र विजय दाहाल रहनुभएको थियो।