मेलबर्न। भिक्टोरियावासी नेपालीहरुलाई कोभिड-१९ तथा भ्याक्सिनका बारेमा सचेतना दिलाउन न्याभले कोभिड भ्याक्सिन जागरुक अभियान संचालन गरिरहेको छ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले हरेक सप्ताहान्तमा कार्यक्रमहरु गर्दै अभियान संचालन गरेको हो। यो अभियानलाई भिक्टोरिया राज्य सरकारले सहयोग गरेको छ।
अभियानका क्रममा न्याभले विभिन्न नेपाली संघसंस्थाहरुसंग मिलेर कार्यक्रमहरु गरिरहेको छ। सरलरेखासंगको कुराकानीमा अभियान संयोजक तथा न्याभका उपाध्यक्ष प्रेम राज उप्रेतीले भिक्टोरियाको समग्र नेपाली समुदायमाझ सचेतना जगाउंदै सामुदायिक एकता र सद्भावको पनि संदेश फैलाउने अभिप्रायले अभियानको आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार, अभियानका आगामी कार्यक्रमहरु ७ मे शनिबार, ८ मे आइतबार र १४ मे मा हुँदैछन्।
शनिबार, ७ मेमा मेलबर्न नेपलीज कम्युनिटी वेस्टसंग कार्यक्रम हुनेछ। वाटर गार्डेन्स टाउन सेन्टर, टेलर्स लेकमा हुने उक्त कार्यक्रममा डा संदेश पन्थ प्रमुख वक्ताको रुपमा रहनुहुनेछ। उक्त कार्यक्रम बिहान १० देखि ११ बजेसम्म संचालन हुनेछ।
आइतबार, ८ मेमा दुई वटा कार्यक्रमहरु रहेका छन्। पहिलो कार्यक्रम अमेजिंग प्यारेन्ट्स नेपलीज कम्युनिटीसंग हुनेछ। यो कार्यक्रममा प्रमुख वक्ताको रुपमा डा संदेश पन्थ रहनुहुनेछ। कार्यक्रम बिहान ९ बजेदेखि १० बजेसम्म संचालन हुनेछ। त्यसैगरी, अर्को कार्यक्रम अ ब्याण्ड अफ वुमन इन एक्सन नेपलीज ग्रुपसंग रहनेछ। बेलुका ४ देखि ५ बजे हुने यो कार्यक्रममा पनि डा संदेश पन्थ प्रमुख वक्ताको रुपमा रहनुहुनेछ।
अभियान संयोजक प्रेम राज उप्रेतीका अनुसार, अर्को सप्ताहान्तमा इपिंग वुलर्ट कम्युनिटीसंग कार्यक्रम हुनेछ। उक्त कार्यक्रम आगामी १४ मे, शनिबार हुने तय भएको उहाँले जानकारी दिनुभयो। यसअघि न्याभले केसी नेपाली समाज (सीएनएस), डोरीन मेरिण्डा नेपलीज कम्युनिटी, फकनर नेपलीज कम्युनिटीका साथमा कार्यक्रम गरिसकेको छ।