मेलबर्न। अष्ट्रेलियाका बैंकहरुले ऋणको ब्याजदरमा वृद्धि गरेका छन्। अष्ट्रेलियाको रिजर्भ बैंकले क्यास रेटमा वृद्धिको घोषणा गरेपछि बैंकहरुले ब्याजदरमा वृद्धि गरेका हुन्।
मंगलबार रिजर्भ बैंकले क्यास रेट ०.१ बाट ०.३५ बनाइएको घोषणा गरेको थियो। त्यसपश्चात विभिन्न बैंकहरुले ब्याजदरमा वृद्धि भएको सुचना सार्वजनिक गरिरहेका छन्।
कमनवेल्थ बैंक, एएनजे र वेस्टप्याकले मंगलबार नै ब्याजदर बढाउने घोषणा गरेका थिए भने एनएबीले बुधबार उक्त घोषणा गरेको छ। त्यसैगरी, सनकार्प बैंकले पनि भेरियेबल होम लोन तथा डिपोजिट रेटमा ०.२५ प्रतिशतले वृद्धि गर्ने सुचना सार्वजनिक गरेको छ। सबैजसो बैंकहरुले भेरियेबल होम लोन ०.२५ प्रतिशतले वृद्धि गर्ने संकेत गरेका छन्।
ब्याजदर वृद्धिदरलाई सीबीएले आगामी मे २० देखि, एएनजे र एनएबीले मे १३ देखि, वेस्टप्याकले मे १७ देखि लागु गर्ने बताइएको छ।
मुद्रास्फीति (Inflation ) बढेका कारण क्यास रेटमा वृद्धि गरिएको रिजर्भ बैंकले जनाएको छ। अष्ट्रेलियाको तथ्याङ्क विभागले मुद्रास्फीति ५.१ प्रतिशतले वृद्धि भएको सुचना गत बुधबार सार्वजनिक गरेको थियो। यो २० वर्ष यताकै सबैभन्दा उच्च वृद्धि हो। यसले गर्दा अष्ट्रेलियाको पेट्रोल, घरजग्गा कारोबार, घरजग्गा निर्माण र समग्र जीवनशैली नै महँगो भएको बताइएको छ।
गभर्नर फिलिप लोले मुद्रास्फीतिलाई कम गर्दै लैजानका लागि आवश्यक नीति अपनाउन रिजर्भ बैंक तयार रहेको बताउनुभएको अष्ट्रेलियाको स्थानीय संचार माध्यम सेभेन न्युजले उल्लेख गरेको छ। गभर्नरले ब्याजदर अझै बढ्न सक्ने सम्भावन रहेको समेत बताउनुभएको छ।