मेलबर्न। अष्ट्रेलियामा नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा गल्फ टुर्नामेन्ट सम्पन्न भएको छ। न्याभले आयोजना गर्दै आएको गल्फ टुर्नामेन्टको यो ११औं सिजन हो।
टुर्नामेन्ट गत आइतबार, मे १ का दिन मेलबर्न स्थित यार्रा बेन्ड पब्लिक गल्फ कोर्समा सम्पन्न भएको थियो। बहुसांस्कृतिक समुदायबाट उल्लेख्य सहभागितासंगै सम्पन्न टुर्नामेन्टमा हार्वेस्ट गल्फरमा राज श्रेष्ठ, नियरेस्ट टु पिनमा शाक्य, लंगेस्ट ड्राइभमा किशोर राई, ग्रस विनरमा लबी पोला, ह्याण्डिक्याप विजेतामा शाक्य, ह्याण्डिक्याप दोस्रोमा ड्यान किङ्ग बो, ह्याण्डिक्याप तेस्रोमा नारायण गैरे र ह्याण्डीक्याप रोविङ्ग कपमा शाक्यले उपाधि हासिल गर्नुभयो।
टुर्नामेन्टको व्यवस्थापन तथा संयोजन न्याभका सल्लाहकार जोग लिम्बु र न्याभका पूर्व अध्यक्ष बम योञ्जनले गर्नुभएको थियो। न्याभले गर्दै आएको टुर्नामेन्टलाई निरन्तरता दिंदै रजत जयन्तिसंगै टुर्नामेन्ट आयोजना गरेकोमा उहाँहरुले वर्तमान कार्यसमितिलाई धन्यवाद तथा बधाई व्यक्त गर्नुभएको थियो।
न्याभका वर्तमान अध्यक्ष राम गुरुङले टुर्नामेन्ट सफल बनाउन सहयोग गर्ने प्रायोजक संस्था, संयोजक समिति, खेलाडी, स्वयंसेवक लगायत सम्पूर्ण व्यक्तित्वहरुप्रति आभार व्यक्त गर्नुभयो। टुर्नामेन्टलाई ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको थियो भने एमके रियल्टि रियल स्टेट प्लाटिनम प्रायोजकका रुपमा रहेको थियो।