मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा बालबालिकालाई चित्रकला तथा मनोरन्जनात्मक क्रियाकलाप मार्फत कोभिड-१९ विरुद्धको भ्याक्सिन सम्बन्धि सचेतना प्रदान गरिएको छ। दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा गत २३ अप्रिलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई FECCA ले सानो अनुदानमार्फत सहयोग गरेको थियो।
आयोजक संस्था दिदीबहिनी समाज भिक्टोरियाका अनुसार, कार्यक्रममा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका सहभागिता भएका थिए। बालबालिकामा कोभिडले कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरा बुझ्न तथा कोभिड र भ्याक्सिन सम्बन्धि थप कुराहरु बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको थियो। करिब ४५ जना बालबालिका तथा उनीहरुका अभिभावकको उपस्थितिमा उद्देश्य अनुरुप कार्यक्रम सफल भएको आयोजक संस्थाले जनाएको छ।
बालबालिकाले कोभिडका लक्षण, मास्कको महत्त्व, भ्याक्सिनको महत्त्व संगै कोभिडको समयका आफ्ना अनुभवलाई चित्रमा उतारेका थिए। त्यसैगरी बालबालिकालाई तातो आलु खेल खेलाइएको थियो। तातो आलु खेलमा कोभिडको संज्ञा दिंदै स्पाइकी बल खेलाइएको थियो। सबै बालबालिकाको सक्रिय सहभागिता रहेको उक्त खेलमा विजेताहरुलाई प्रोत्साहन पुरस्कार समेत प्रदान गरिएको थियो।
कार्यक्रमको जानकारीमूलक सेसन कार्यक्रम संयोजक रीता लामिछानेले र्याट टेस्टिङ परीक्षण गर्ने सही तरिका, त्यसको समय र परीक्षण पोजेटिभ देखिएमा रिपोर्टिङ कसरी गर्न बारे जानकारी गराउनुभयो। डीपीभी स्वास्थ्यबाट इम्युनिजर र कोभीड १९ खोपकर्ता कमला होमगाईनले विशेष गरी बच्चाहरूका लागि कोभीड खोपको दोस्रो तथा बूस्टर डोज, खोप साइटहरू तथा बुकिंग, सम्भावित साना साइड इफेक्टहरू व्यवस्थापन र प्रतिकूल घटनाहरूको रिपोर्ट गर्नेबारे जानकारी प्रदान गर्नुभयको थियो भने खोप सम्बन्धि अभिभावकहरुले उठाएका प्रश्नहरुको सम्बोधन समेत गर्नुभयो।
बालबालिकालाई रचनात्मक तथा मनोरन्जनात्मक तरिकाले सचेतनामूलक कार्यक्रममा सहभागी गराएकोमा सहभागी अभिभावकहरुले दिदीबहिनी समाजप्रति आभार व्यक्त गर्नुभयो। उहाँहरुले कार्यक्रमले बालबालिकाको प्रतिभालाई बाहिर ल्याउन समेत सहयोग पुगेको उल्लेख गर्दै खुसी व्यक्त गर्नुभएको थियो।
आफ्नो यो कार्यलाई निरन्तरता दिंदै दिदीबहिनी समाज भिक्टोरियाले आगामी जुन ४ मा बालबालीकाहरुका लागि हाजीरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। संस्थाले चित्रकला कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिका, अभिभावक, सहयोगी संस्थाका प्रतिनिधि, स्वयंसेवकलाई विशेष आभार व्यक्त गर्दै आगामी कार्यक्रममा पनि साथ, सहयोग तथा सहभागिताको अपेक्षा रहेको उल्लेख गरेको छ।