मेलबर्न। अष्ट्रेलिया जाने चाहनामा युवाहरु नक्कली विवाह गरेर डिपेनडेण्ट भिसाका लागि आवेदन दिने क्रम रोकिएको छैन। यसरी नक्कली सम्बन्ध खडा गरेर अष्ट्रेलिया जानु कत्तिको उचित छ र यसले गर्दा अष्ट्रेलिया पुगिसकेपछि के-कस्ता चुनौती सामना गर्नुपर्छ भन्ने विषयमा आज हामीले डाँफे कन्सल्टिङ्ग, मेलबर्न, अष्ट्रेलियाका डाइरेक्टर सन्तोष कर्णसंग विशेष कुराकानी गरेका छौँ। कुराकानीको सम्पादित अंश:
सबैभन्दा पहिलो कुरा त नक्कली विवाह गरेर आउनु नै गलत हो, यो गैरकानुनी हो। विद्यार्थी भाइबहिनीहरुलाई कसैको पनि सुझावको आधारमा, जसरी पनि अष्ट्रेलिया आउने भन्ने सोंचमा यो गलत कदम नउठाउन नै मेरो अनुरोध छ। समस्या, चुनौतीको कुरा गर्नुहुन्छ भने, नक्कली विवाह गरेर आउँदा सुरुमा त सहज लाग्ला, अष्ट्रेलिया आउन पनि पाइएला तर तपाईं समस्याको दलदलमा फस्नुहुनेछ।
आवेदन दिंदा पहिले सिंगल भनेर आवेदन दिने, केहीदिन पछि विवाहित भनेर डिपेनडेन्टका लागि आवेदन दिंदा यहाँ आउनुभन्दा अगाडी नै समस्या आउँछ।
यहाँ आइसकेपछि अलग बस्दा अर्को समस्या हुन्छ। झुटो सम्बन्धलाई बाहिर वास्तविक देखाउने दबाब हुन्छ। त्यस क्रममा त्यो सम्बन्धभित्र तपाईंको व्यक्तिगत जीवनलाई नै असर पार्ने विभिन्न अवस्था आउन सक्छन्।
यहाँ रहँदा, पढ्दा या काम गर्दा कुनै पनि समयमा झुटो सम्बन्ध भन्ने थाहा भएमा दुवै जनाको भिसा रद्द हुन्छ।
भिसा रिन्यु गर्नुपर्दा पनि व्यवहारिक समस्या हुन्छ। दुई मध्ये प्रमुख भिसा होल्डरले भिसा रिन्युका लागि पैसा माग्ने समेत गर्छन् ।
भिसा जोगाउनकै लागि डिपेनडेन्टमा आएका कतिपय व्यक्तिले सबै आर्थिक भार व्यहोर्नुपर्ने, हिंसा समेत सहने गरेका घटना बाहिर आउने गर्छन्।
यो अवस्थामा ब्ल्याकमेलिङ्गको शिकार पनि बन्न सक्नुहुन्छ। विवाहकै प्रमाणपत्रका आधारमा केटीले केटाको नेपालमा रहेको सम्पत्तिमाथि हकदाबी गर्ने, पार्टनरले सम्बन्ध-विच्छेद गर्न नमान्ने जस्ता घटना घटिरहेका हुन्छन्।
सम्बन्ध-विच्छेद गर्दा कानुनी र व्यवहारिक झमेला व्यहोर्नुपर्छ। त्यसपछि आफ्नो वास्तविक पार्टनरका लागि भिसा आवेदन दिंदा, विवाह गर्दा फेरी समस्या झेल्नुपर्छ।
पीआर प्राप्त गरिसकेपछि पनि यदि विवाह झुटो भन्ने थाहा भएमा पीआर समेत रद्द हुन्छ।
अष्ट्रेलिया आइसकेपछि यहाँ एक्लो बसाई हुन्छ, परिवार टाढा हुन्छ र त्यसमाथि डिपेनडेन्ट भिसाका कारण आउने समस्याले युवाहरुको मानसिक स्वास्थ्यमा असर समेत परिरहेको छ। जसले गर्दा, अष्ट्रेलिया आउनुको उद्देश्य त कता हो कता, उनीहरुले सहज जीवनयापन गर्न समेत पाइरहेका हुँदैनन्।
कुनै पनि काममा, उद्देश्य प्राप्त गर्न हामीलाई छोटो बाटो सहज लाग्छ। आफूले चाहेको कुरा जसरी पनि पाउने होडमा हामी गलत कदम चाल्न पुग्छौं। तर एउटा उद्देश्यका लागि आफ्नो पूरा जीवन नै जोखिममा पार्नु कत्ति पनि उचित हुँदैन।
(अष्ट्रेलिया भिसा तथा करियर सम्बन्धि जिज्ञासा भएमा यहाँ क्लिक गरी जिज्ञासा राख्न सक्नुहुनेछ। माथि उल्लेखित जानकारीहरु सामान्य जानकारीहरु हुन्, सबै केसमा यी जानकारी उपयोगी नहुन सक्छन्। त्यसैले, रजिस्टर्ड परामर्शदातासंग सरसल्लाह लिन अनुरोध गर्दछौं। यदि डाँफे कन्सल्टिङ्गमा सम्पर्क गर्न चाहनुहुन्छ भने डाँफे कन्सल्टिंगका कार्यालयहरु नेपालमा चितवन र काठमाडौंमा तथा अष्ट्रेलियामा मेलबर्न र सिड्नीमा रहेका छन्। )