काठमाडौं । स्वास्थ्यका लागि प्राणीलाई खानाको आवश्यक छ । हामीले खाने खानामा पनि सबै प्रकारका पौष्टिक तत्वयुक्त हुनुपर्छ । जब पौष्टिक तत्वको सन्तुलन बिग्रिन्छ तब हाम्रो शरीरमा विभिन्न रोगले डेरा जमाउन थाल्छ । ओमेगा ३ फ्याटी एसिडको यस्तै एउटा पोषक तत्व हो जुन शरीरमा निकै कम मात्रामा पाइन्छ । ओमेगा ३ को कमी भएमा विभिन्न प्रकारका स्वास्थ्य जोखिम रहन्छ । यसको कमी भएमा थकाइ लाग्ने, स्मरणशक्ति कम हुने, छालामा सुख्खापन देखिने, हृदयघात हुने, मुड परिवर्तन भइरहने र डिप्रेसन बढ्ने जस्ता समस्याहरु देखिन्छन् । यस्तै क्यान्सरबाट बच्न समेत ओमेगा ३ को आवश्यकता पर्छ । ओमेगा ३ को लागि कुनै औषधि सेवन गर्नुपर्दैन । हामीले दिनहूँ खाने खानेकुरामै हाम्रो शरीरलाई आवश्यक मात्रामा यो पोषणतत्व रहेको हुन्छ ।
हरियो सागपात
शाकाहरीहरुका लागि ओमेगा ३ फ्याटी एसिडको बलियो स्रोत हरियो सागपात हो । हरियो सागपातमा स्वास्थ्यका लागि आवश्यक तत्व प्रचुर मात्रामा पाइन्छ । त्यसैले आफ्नो खानामा पालुङ वा अन्य हरियो सागपात अवश्य मिलाउनुहोला ।
सोयाबीन
शाकाहारीहरुका लागि सोयाबीन प्रोटीनका लागि महत्वपूर्ण स्रोत हो । तर थोरैलाई मात्र थाहा होला कि सोयाबीनमा शरीरका लागि आवश्यक ओमेगा ३ पनि हुन्छ भनेर । सोयाबीनमा फाइबर, म्यग्नीसियम र फोलेट जस्ता खनिज तत्व पनि पाइन्छ ।
ओखर
ड्राई फ्रूट्सहरुमध्ये ओखर सर्वश्रेष्ठ मानिन्छ । ओखरको नियमित सेवनले शरीरमा भरपूर मात्रामा ओमेगा ३ उपलब्ध हुन्छ । यसको अलावा भिटामिन ई, म्याग्निेसियम र कपर जस्ता पोषक तत्व पनि यसबाट प्राप्त हुन्छ ।
अण्डा
हामीले प्रायः विहानी खाजाका रुपमा खाने अण्डा स्वास्थ्यको दृष्टिकोणले सुपरफुड नै भन्दा हुन्छ । यसमा ओमेगा ३ पाउनुका साथै यसको नियमित सेवनले प्रचुर मात्रामा प्रोटीन र भिटामिन ई प्राप्त हुन्छ ।
माछा
माछा धेरै मांसाहारीको रोजाइमा पर्छ । यो स्वास्थ्यका लागि समेत अत्यन्त लाभकारी हुन्छ । माछामा ओमेगा ३, म्याग्निसियम, भिटामिन बी५ र पोटेसियम हुन्छ । माछामा पनि साल्मन र टूना प्रजातिका माछा बढी पोषणयुक्त हुन्छन् ।