-डा डीबी सुनुवार
नेपाली परिवेशमा वर्षायामको अन्त्यसँगै उत्सवको समय सुरु हुन्छ । चाडपर्व तथा उत्सवले विशेषगरी खेतिपातीको काम सकेर थकित भएका किसानको थकान मेटाउन सहयोग गर्छ । उत्सवको समयमा व्यक्तिको मन खुसी हुन्छ । उत्सवको समय सँगसँगै खेतबारीमा लगाइएको बालिनाली भित्र्याइन्छ ।
उत्सव मनाउने विभिन्न संस्कार, संस्कृति तथा तरिका छन् । संस्कार अनुसार चाडपर्वमा मिठोमसिनो खाइन्छ । त्यस्तै दशैँ–तिहारजस्ता पर्वमा माछामासुलगायतका परिकार खाइन्छ । सामान्यतः दशैँमा प्रशस्त माछामासु खाइन्छ ।
माछामासुलगायतका परिकार बनाएर खाँदै आफन्तसँग भेटघाट गर्दै रमाइलो गरेर उत्सवका साथ चाडपर्व मनाइन्छ । जसले व्यक्तिलाई खुसी दिन्छ ।
तर स्वास्थ्यका लागि स्वस्थ खानपान गर्नु अति आवश्यक छ । स्वस्थ मासु खानका लागि मासुको स्रोत नै स्वस्थ हुन आवश्यक छ । विशेषगरी सहर–बजारमा बसोबास गर्ने व्यक्तिले जथाभावी काटेको मासु खानु हुन्न । रोगी जनावर तथा पशुपक्षीको मासु हुन सक्छ । मरेको र बासी तथा सडेगलेका हुन सक्छन् । मासु नै अस्वस्थ भए व्यक्तिको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुग्न सक्ने भएकाले कस्तो मासु हो । कस्तो ठाउँमा काटेको छ विचार गरेर मात्रै मासु लिनु पर्छ । स्वस्थ मासु मात्रै व्यवस्था गर्नुपर्छ । खानु पर्छ ।
भान्छासम्म ल्याएको मासुलाई कसरी स्वस्थकर रुपमा भण्डारण गर्न सकिन्छ भन्ने जान्न अति जरुरी छ । यसका लागि विशेषगरी शहर–बजार तथा गर्मी ठाउँमा त एक दिनलाई मात्रै पुग्ने मासु लिनु उचित हुन्छ । गाउँहोस् वा सहरमा मासुको सुकुटी बनाएर राख्न सकिन्छ । फ्रिजमा राख्न सकिन्छ । फ्रिजमा राख्दा जति खाने हो, त्यति मात्रै झिक्नु पर्छ । फ्रिजमा राख्दा नै मासुका टुक्रा–टुक्रा बनाएर राख्नु उचित हुन्छ । फ्रिजबाट झिक्दै, पुन फ्रिजमै राख्दा मासुमा भएको पोषणतत्व नस्ट भएर जाने हुनाले त्यसरी झिक्दै फ्रिजम राख्नु हुन्न ।
यस्तै हामीले बनाउने मासुका परिकार स्वस्थकर हुन पनि जरुरी छ । मासुका परिकार स्वस्थ्यकर बनाउने उपाय छन् । दशैँजस्तो पर्वमा मासुका परिकार धेरै खाइने हुँदा स्वस्थकर रुपमा बनाएर नखाए अस्वस्थ हुने जोखिम हुन्छ ।
पोलेर, सेकुवा बनाएर, तास बनाएर, धेरै तारेर, धेरै भुटेर सकेसम्म मासु खानु हुन्न । यसरी मासु खाँदा क्यान्सरलगायतका रोगको जोखिम हुन्छ । पोलेको मासुमा कार्बन उत्सर्जन हुन्छ । कार्बनकै कारण मासु स्वादिलो हुन्छ । मासुको बाहिरी भाग पाके पनि भित्री भाग तथा रगत पाकेको हुन्न । जसले मासु स्वादिलो हुन्छ । तर स्वास्थ्यको हिसाबले पोलेको मासु घातक हुने जोखिम हुन्छ ।
मासु उसिनेर खानु स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ । तेलमा पकाएर खाँदा तेल स्वस्थकर हुनु पर्छ । कम तेलमा पकाउनु उचित हुन्छ । धेरैबेर नभुटेकै राम्रो । एउटै तेलमा पटक–पटक तार्नु हुन्न । एक पटक मासु पकाउँदा तेल सक्नु पर्छ । पुनः पहिले मासु पकाएको तेल प्रयोग गर्नु हुन्न ।
एकपटक तताएको तेल पुनः पटक–पटक तताएर मासु पकाउँदा तेलमा भएको पोषण तत्व नस्ट भएर जान्छ । त्यस्तो तेल विषाक्त बन्ने भएकाले विषाक्त तेलमा पकाएको मासु खानाले व्यक्ति अस्वस्थ हुने जोखिम अत्यधिक हुन्छ । ताजा मासु, ताजा तेल, ताजा मसला खानु पर्छ ।
मासु र रक्सी सँगै खानु–पिउनु हानिकारक
सामान्यतः रक्सीसँग मासु खाने चलन छ । त्यो गलत हो । रक्सी र मासु अन्तरसम्बन्धित छन् । रक्सीले मासुको माग गर्छ । रक्सी धेरै पिउँदा मासु पनि धेरै खान सकिन्छ । अल्कोहलले शरीरका अंगलाई नै नकारात्मक असर गर्छ । रक्सी पिउनै परे पनि एक प्याक वाइन पिउन सकिन्छ । मासुसँग हैन छुट्टाछुट्टै खानु–पिउनु पर्छ ।
मासुसँग रक्सी पिउँदा एक त मासुमा भएको बोसो तत्वको कारण व्यक्तिलाई हृदयाघातलगायतको जोखिम हुन्छ । अर्कोतर्फ रक्सी र मासु खाँदा–पिउँदा अझै खाउँखाउँ लाग्छ । जसले स्वास्थ्यमा असर गर्ने नै भयो । रक्सी पिउनै परे फलफूल तथा सलादसँग पिउनु उपयुक्त हुन्छ । शारीरिक तथा मानसिक समस्या भएका व्यक्तिले त रक्सी नपिएकै बेस ।
मासुसँग सागसब्जी तथा फलफूल खानु पर्छ । मासुमा चिल्लो, प्रोटिनजस्तो तत्व पाइन्छ । विशेष गरी रातो मासु हाम्रो पाचन प्रणालीले पचाउन मुस्किल पर्छ । अझ धेरै मसला हालेर तारेको, भुटेको र पोलेको मासु त हाम्रो शरीरका लागि अभिषापै हुने जोखिम हुन्छ । त्यसैले मासु मात्रै धेरै खानु हुन्न । मासुसँग फाइबरयुक्त सागसब्जी तथा फलफूल खानु पर्छ ।
सिमी, साग, घिरौँला लौकाजस्ता सागसब्जी खानाले पाचन प्रक्रियामा सहज हुन्छ । जसले पायल्स, फिस्टुला, फिसर हुनबाट बच्न सकिन्छ । आवश्यकताभन्दा बढी मासु खाँदा पाचन प्रक्रियामै अवरोध हुन्छ, पच्दैन । जसले यी समस्याको जोखिम मात्रै हैन स्वास्थ्यसम्बधी अन्य समस्या निम्तिन सक्छ ।
मासुभन्दा बढी साकाहारी खाना खानु उपयुक्त हुन्छ । सकेसम्म अग्र्यानिक सागसब्जी खानु पर्छ । सागसब्जीमा प्रशस्त पोषण तत्व हुन्छ । सागशब्जी खाँदा शुद्धतामा भने ध्यानु दिनु पर्छ ।
व्यक्तिले दैनिक करिब ३०० ग्राम मासु खानु उपयुक्त हुन्छ । दसैं जस्तो पर्वमा भने शरीरलाई आवश्यकता भन्दा १० औँ गुणा बढी मासु खाएको पाइन्छ । जसले झाडा पखाला हुने, बान्ता हुनेजस्ता समस्याको जोखिम हुन्छ ।
विशेषगरी सुँगुर–बंगुरको मासु बढी बोसोयुक्त हुन्छ । यस्तो बोसोयुक्त मासु बढी मसला हालेर खाँदा झाडापखाला तथा बान्ता हुने जोखिम अत्यधिक हुन्छ । त्यसैले सुँगुर–बंगुरको मासु उसिनेर अत्यन्तै कम मसला हालेर खानाले झाडापखाला तथा बान्ता हुनेजस्ता समस्या बाट बच्न सकिन्छ ।
सुँगुर–बंगुरको मात्रै हैन खसी, राँगालगायतको मासु पनि कम मसला हालेर उसिनेर खानु उपयुक्त हुन्छ । माटोको भाँडोमा सानो आगोमा बिस्तारै पकाएर खानु उपयुक्त हुन्छ । मासु उसिनेर खानाले मासुमा भएको पोषण तत्व पनि नस्ट भएर जाँदैन । शरीरलाई बेफाइदा भन्दा फाइदा धेरै गर्छ । पक्कु बनाएको मासु लामो समय राखेर खानु हुन्न । पक्कु २र३ दिनभन्दा बढी राख्दा ढुसी परेर संक्रमित हुन सक्छ । संक्रमित मासुले स्वास्थ्यमा असर गर्ने नै भयो ।
मासुका परिकार बनाउँदा एकपटक मासुलाई उमालेर परिकार बनाउनु उपयुक्त हुन्छ ।
हुन त सामान्यतः हाम्रो नेपाली समाजमा खसी, राँगालगायतको रातो मासुमा धेरै मसला हालेर पकाउने चलन छ । तर मसला कम हाल्नु उचित हुन्छ । धेरै मसला हालेको मासु जिब्रोको लागि स्वादिलो हुने भए पनि पेटका लागि भने विषसरह हुन सक्छ । आवश्यकताअनुसार नुन, लसुन, अदुवाजस्ता मसला हालेर मासु पकाउनु उचित हुन्छ ।
साकाहारी खानपान कसरी गर्ने ?
साकाहारी खानपान गर्नेले पनि सागसब्जी उसिनेर हल्का मरमसला हालेर खानु उपयुक्त हुन्छ । साग पात पकाउँदा मासु पकाएजस्तै भुट्नु उचित हुन्न । झ्वाइँया पारेर साग भुट्दा सागमा भएको पोषण तत्व नस्ट भएर जान्छ । यसरी साग भुटेर पकाउनु उचित हुन्न । साग पकाउँदा पानी उमाल्नु पर्छ । उम्लिएको पानीमा साग हालेर हल्का उमाल्नु पर्छ । थोरै तेल वा घिउ हाल्न सकिन्छ । यसरी पकाएको सागको पोषणतत्व नस्ट भएर जाँदैन । सागसब्जीमा भएका किटाणु मर्छन् र शरीरलाई आवश्यक पोषण तत्व पनि रहन्छ । यसरी उसिनेर पकाएको सागसब्जी स्वास्थकर हुन्छ ।
अचार मन पराउनेले ताजा अचार खानु पर्छ । साँदेर लामो समय राखेको अचारले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । बट्टामा लामो समय साँदेर राखेको अचारमा अम्लियपन (एसिड) बढी हुन्छ । त्यस्तो अचार खाँदा पाचन प्रणालीले पचाउन नसक्ने हुनाले ग्याष्ट्रिकलगायतको जोखिम हुन्छ । त्यसैले ताजा भर्खरै बनाएको अचार खानुपर्छ ।
धेरै मसलेदार अचार खानु उपयुक्त हुन्न । रातो खुर्सानीमा बढी अम्लियपन हुने भएकाले अचारमा हरियो खुर्सानी नै खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । हरियो खुर्सानी हालेको हचार खान उचित हुन्छ । खाना पचाउनका लागि कागती, निबुवा, सुन्तला खान सकिन्छ ।
अन्त्यमा,
माछा–मासु, अमिलो चिल्लो पिरो खाँदा मुखले फरक स्वाद लिएको हुन्छ । मुख बिग्रिएको हुन सक्छ । यस्ता परिकार खाइसकेपछि दहीसँग गुलियो खाँदा केही मात्रामा खाना पच्न सहायता गर्छ ।
त्यसैले माछा–मासुलगायतका परिकार खाइसकेपछि मिठाई, दहीजस्ता दूधबाट बनेका परिकार तथा गुलियो खान सकिन्छ । तर मिठाइलगायत गुलियो पदार्थ धेरै खानु हुन्न । ५०/६० ग्राम खानु उचित हुन्छ । मिठाइमा धेरै क्यालोरी हुने भएकाले मिठाइ बढी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । दहीमा जेरी, लड्डुजस्ता गुलियो पदार्थ मिसाएर खानु उपयुक्त हुन्छ ।
तर बिहानी पखको दही मात्र स्वास्थ्यका लागि लाभदायक हुन्छ । बेलुका हुँदै जाँदा दहीमा हुने ब्याक्टेरिया सक्रिय हुँदै जान्छन् । यसर्थ बिहानको तुलनामा ब्याक्टेरियाको सक्रियताका कारण बेलुकीको दही बढी अमिलो हुन पुग्छ । बेलुकीपखको दही विशाक्त हुँदै जान्छ । त्यसैले बिहान दही खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । बेलुकी भने नखाएकै राम्रो ।
सन्तुलित रुपमा खानपान गर्नाले व्यक्ति स्वस्थ हुन सकिन्छ । यसरी स्वस्थकर खानपान गरेर चाडपर्वजस्ता उत्सवलाई स्वस्थकर बनाउन सकिन्छ ।