बाथ रोग हाड जोर्नीसँग सम्बिन्धत जटिल स्वास्थ्य समस्या हो । पहिले बढ्दो उमेरसँगै देखिने भनिएको बाथ रोगको समस्या अहिले कम उमेरका व्यक्तिहरुलाई समेत हुने गरेको छ । वाथ रोग लाग्दा जोर्नीहरुमा दुख्नुका साथै त्यसमा सुन्निने समस्या समेत देखिन्छ ।
त्यसो त धेरै पीडितले वाथ रोगको नियमित औषधी सेवन गर्ने गर्दछन् । तर कहिले काहीं नजानेर गरिएका केही कार्यहरुले वाथ रोगबाट मुक्ति पाउनुको सट्टा अझ बढी समस्या निम्तिन सक्छ । त्यसैले त्यस्ता गल्तीहरु नदोहोर्याउनु बुद्दिमानी हुन्छ :
१ दौडिन छोड्नुहोस्
बाथ रोगबाट पीडितहरुले एक्सरसाइज गर्न त सक्छन् तर दौडिने कार्य भने घातक हुन सक्छ । त्यसैले यस रोगका बिरामीले दौडिने र जगिङ गर्ने जस्ता एक्सरसाइज भुलेर पनि गर्नुहुँदैन । किनभने दौड र जगिङ गर्दा जोर्नीमा सीधा प्रभाव पर्छ । जसले गर्दा थप समस्या देखिने खतरा रहन्छ । यसका साथै एरोबिक्स, उफ्रिने र डोरी खेल्ने जस्ता कामहरु पनि गर्न हुँदैन ।
२ खेल्न मनाही छ
भनिन्छ खेलकूदले व्यक्तिलाई शारीरिक तन्दुष्टि दिनुका साथै फिट रहन मद्दत गर्छ । तर वाथ रोगका रोगीहरुले शरीरको बढी मुभमेन्ट हुने वा अचानक शरीरको चाललाई विपरित दिशामा मोड्नुपर्ने भएकोले खेलकूदबाट टाढै बस्नुपर्छ । किनभने खेलकूदका कारण जोर्नीहरुमा उल्टो असर पर्ने खतरा रहन्छ । विशेष गरि टेनिस,बास्केटबल,भलिबल र ब्याडमिन्टन जस्ता खेलहरु बाथ रोगीका लागि घातक हुन सक्छ ।
३ शरीरको हाउभाउमा ध्यान दिनुहोला
थोरै मान्छेले मात्र उठ्दा या बस्दा शरीरको हाउभाउ वा अवस्थामा ध्यान दिन्छन् । तर बाथ रोगीहरुले यसमा सधैं ध्यान दिनुपर्छ । गलत हाउभाउ वा शारीरिक अवस्थामा बस्दा जोर्नीमा दबाब पर्छ र समस्या देखिन्छ । विशेष गरेर खुट्टा खप्ट्याएर उपरखुट्टी गरेर बस्नु वाथ रोगीका लागि खतरनाक हुनसक्छ ।
४ सिंढी वा भर्याङ कम प्रयोग गर्नुहोला
जोर्नी दुखाइबाट पीडितहरुले बढी सिंढी वा भर्याङको प्रयोग गर्नुहुँदैन । किनभने सिंढी वा भर्याङ चढ्दा यसको सीधा असर घुँडाको जोर्नीमा पर्छ । त्यसैले सम्भव छ भने लिफ्टको प्रयोग गर्नुहोला ।
५ तातोले सेक्ने काम नगर्नुहोस्
केही व्यक्तिहरुले जोर्नीको दुखाइ कम गर्न भन्दै तातोपानीको वाफले सेक्ने गर्छन् । यो वाथ रोगीका लागि घातक मानिन्छ । किनभने तातोले अझ बढी सुन्निने बनाउछ । जसबाट दुखाइ समेत बढाउछ । बरु चिसो वरफले केही समय सेक्नु फाइदाजनक हुनसक्छ ।