काठमाडौं । हेमन्त ऋतुमा पर्ने यःमरी पुन्हि’ पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा विहीवार धुमधामले मनाइँदैछ।
नेपाल संवतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ। नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन्।
मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन्। मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ।
जाडोमा महिनामा नाम सुन्दै मुखमा पानी आउने तातो यःमरी खानुको मजा बेग्लै हुन्छ । यःमरी बनाउन पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचिन चामलले लिएको छ ।
यःमरी बनाउन चाहिने सामग्री
– ताइचिन चामलको पीठो– एक केजी,
– तातो पानी,
– शुद्ध घिउ दुई चम्चा,
– चाकु दुईवटा / खुवा १०० ग्राम ।
बनाउने विधि
– पहिले तिललाई भुट्ने । त्यसपछि चाकु वा खुवालाई थोरै पानी हालेर पकाउने ।
– ताइचिन चामलको पीठोमा शुद्ध घिउ हालेर ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछ्नुपर्छ । नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने डर हुन्छ । त्यसपछि एकनासको आकार हुने जति मुछिएको पीठोको एउटा डल्लो लिएर आकार दिनुपर्छ । पीठोलाई आकार दिँदा यःमरीको रूप बन्छ । पीठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पीठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ भने बिचमा खोक्रो ठाउँ बन्छ । यःमरीलाई विभिन्न आकार दिन सकिन्छ ।
– त्यो रित्तो ठाउँमा चाकु छ भने तिल पनि र खुवा छ भने खुवामात्र राख्ने ।
– त्यति गरिसकेपछि एउटा भाँडोमा पानी उमालेर त्यसमाथि बाफ छिर्ने खालको प्वाल परेको प्लेट वा मःम पकाउँदा प्रयोग गर्ने जस्तो भाँडोमा अघि बनाएर राखेको यःमरीलाई ३ देखि ५ मिनेट बफ्याए खान मिल्ने यःमरी तयार हुन्छ ।