–मिरा राजभण्डारी अमात्य
नकारात्मक कुरा पोस्ट गर्दा र पढ्दा साँच्चिक्कै तनाव हुन्छ । त्यसैले सकेसम्म त्यस्ता पोस्टमा कमेन्ट गर्न मन लाग्दैन । तर अहिले बालिग र नाबालिगका मुद्दा ? बलात्कर भनेको के हो ? जस्ता मुद्दामा नामी र दामी दामी लेखकहरुका लेखहरु पढ्न पाइरहेको छ । आफूले पनि बिगतमा बलात्कर जस्ता जघन्य अपराधमा रिसर्च गरेको हुँदा कुनै लैंगिक पक्षले नभई एक जिम्मेवार मानवका हिसाबले अहिलेको परिदृश्यमा नेगेटिभ इस्यू भए पनि केही कुरा पोख्ने जमर्को गरेको छु ।
रिसर्चको क्रममा १२ जना बलात्करका अपराधमा डिल्लीबजार सदर खोरमा अभियुक्त /अपराधीसँग प्रत्यक्ष कुराकानी गर्ने मौका पाएको थिएँ । २५ देखि ७५ बर्षका वृद्धसम्म थिए त्यो लर्कोमा । शत प्रतिशत सबैको भनाइ आफूलाई विभिन्न बहानामा फसाइएको दाबी गरेको पनि देखियो । तिनीहरुमध्येका २५ बर्षको एउटा केटो भने आफ्नै प्रेमिका जो नाबालिग थिइन्, केटीकै कोठामा पक्राउ परेका थिए । केटीको दिदी र भिनाजुको उजुरीको आधारमा केटोमाथि बलात्करको मुद्दा लगाएको थियो । उनीहरुको आरोप प्रमाणित भएपछि सदर खोरमा १० बर्षको सजाय भोग्दै थिए उनी । जेलरका अनुसार उनका ती प्रेमिका हप्तामा एकपल्ट भेट्न आउथिन् जेलमा र भन्थिन् रे “हाम्रो प्रेम थियो, सम्बन्ध भयो । कृपया छुटाइदिनु हामी बिहे गर्छौं “। केटोको भनाइ पनि त्यही थियो । केटाकै भनाइ अनुसार अरू बेला पनि केटो कोठामा जाने गरेको तर कसैले खास मतलब गर्थेन । जब केटीको दिदी र केटोको परिवारसँग पैसा लेनदेनको कुरा मिलेन त्यसपछि टार्गेटमा आफू परेको ती केटाको भनाइ थियो । अनुसन्धानका क्रममा पनि पैसाको कारोबार भएको खुलेको छ । उमेर मिल्ने,जात पनि मिल्ने, यदि केटोसँग लागेको मन नपरे उनैसँग बिहे गरी दिन सकिने अवस्था थियो । तर केटोलाई जेल गरियो ! केटी भर्खरकी थिइन् तर पनि उनी हप्ता दिनमा खानेकुरा लिएर सदर खोरमा पुग्थिन् । ती किशोरीलाई मानसिक, सामाजिक रुपले कति प्रताडना भएको होला ? हुन त शुरुमा दिदी भिनाजुको दबाव र कुटाइमा आफूलाई बलात्कर गरेको बयान दिएकै कारण ती केटा जेल पुगेका थिए । तर दबावलाई प्रेमले जित्यो र केटी आफ्ना प्रेमीलाई छुटाइदिनु भन्दै प्रत्येक हप्ता सदरखोर धाउदै थिइन् ।
अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चामा रहेको घटना र परिस्थितिमा उठेका सवाल बिल्कुल अलग छन् । केटोले नस्वीकार्ने मात्र होइन आफूलाई महिला अधिकारकर्मी भनिएकाहरु नै ती बालिकाको विपक्षमा अनापसनाप लेख्ने र बोल्ने गरिरहेका छन् । जुन अत्यन्त सम्वेदनशील छ । इस्यु नबुझेर त होइन होला । खासमा यही बेला सबैलाई आआफ्नो पुरुष सेलिब्रिटी फ्यान बनाउने होड देखिन्छ । त्यसैले उनीहरु लेख लेखेर थाकेका छैनन् ! ए बाबा मानिसहरुलाई कति न्यायाधीश बन्नुपरेको होला ? जुन पात्रहरुको अहिले चर्चा भइरहेका छन्, ती दुवै पात्रका जीवन अत्यन्त सम्वेदनशील छन् । केटी पात्रको अवस्था अझ नाजुक छ । किशोरअवस्थाको मन – प्रेम कोमल हुन्छ , जस्तोसुकै अपराधी होस् तर मन प¥यो भने प¥यो । किनकी अवस्था नै त्यस्तै हुन्छ । नत्र होइन भने आफूलाई जन्मा दिने बाबुआमा, सखी र दिदी बहिनीभन्दा किन प्यारो लाग्छ प्रेमी ? ४० बर्षको पुरुष र ४० बर्षकी महिला लैला मज्नु, हिर–राँझा बन्दैनन् । एकाध बुढ्यौलीमा प्रेममै परेपनि छिछी बरु बिहे गर्नु नि, के तमासा गरेको होला भन्ने गरेको सुनिन्छ समाजमा । घरी एउटा सोच्ने घरी अर्को सोच्ने चन्चल मनका किशोरकिशोरीकै हो हुने प्रेम । लगाव अचम्मको हुन्छ र कहिलेकाही त्यस्ता लगाव सकिन्छ पनि । यस्तै अवस्थामा अहिलेको परिदृश्य आउछ समाजमा ।
अब मुख्य कुरा के हो भने अमुक पात्रले अमुक कारण अर्को पात्रसँग पिछा छुटाउनतिर लागेको हुन सक्छ । तर फरक यति हो केटी पात्रको मन सजिलै बदलिन सकेन अथवा उनले सहजै भुल्न सकिनन् । हुन त मानिस एक्लै जन्मिन्छन एक्लै मर्छ ! तर यो दर्शन बुझ्ने उमेर ती पात्र दुबैको खास छैन । दुबै पक्षबीच एक अर्कालाई बेइज्जत गर्ने होडबाजी चलेको देखिन्छ । बरु पुरुषहरु ती महिला पात्रका पक्षमा उभिएका छन् तर पीडित महिला पात्रमाथि महिला नै असहिष्नु बनेर उत्रेको देख्दा अचम्म लाग्छ । बरु दुवै पात्रको संगीन अवस्था बुझेर विवेकपूर्ण अभियान चलाईदिए कति जाति हुन्थ्यो । यो बिषयमा यति धेरै घोचपेच गर्नुभन्दा मुद्दामा खास बहस नगरि विन–विन पोलिसीबाट टुङ्याउन सघाए कति धन्य बन्थे ?