स्कुल पढ्दाको समय नै बेग्लै । चकचक । उपद्रो । छेडखानी । धेरैथोरै अश्लिल । चढ्दो उमेरमा सबै कुरा नयाँ लाग्थे मलाई । स्कुलका प्रत्येक केटी गजबका । गाउँमा देखिने नयाँ केटीको अनुहार वा कहीँ कतै घुम्न जाँदा बाटोमा देखिने केटीहरू पनि उस्तै । ती सबैलाई एकसरो हेरिभ्याउँथे मेरा आँखाले । अहिले जस्तो फेसबुकको जमाना पनि कहाँ थियो र रु केटीका तस्बिर आँखाले खिचेर मनमा राखे मात्रै हेर्न पाइन्थ्यो । आँखाबाट ओझेल परेपछि मनले खिचेका तस्बिर सम्झेर म र मेरा केटा साथीहरू मनमनै अनेक समपना बुन्न थाल्थ्यौँ । मन त्यसैत्यसै रङ्गिन भइदिन्थ्यो । थाहै नपाइ काउकुती लाग्थ्यो अनि आफैँसँग अलिअलि लाज पनि ।
अझै सम्झन्छु, त्यतिबेला उपद्रो खुब रुचाउने मेरो साथी थियो । ऊ आफूपनि केटी जिस्क्याउँथ्यो र मलाई पनि उसै गर्न खुब उस्काउँथ्यो । उसले फुर्ती लगाउँदै भन्थ्यो, “हेर् मेरो त तीनतीन वटा गर्लफ्रेन्ड छन् । एउटीलाई दिउँसो सम्झिने, अर्कीलाई राती सम्झिने, अनि अर्कीलाई सम्झने पालो बिहानको झिसमिसेमा ।” उसका यस्ता कुरा सुनेर म अचम्मै पर्थेँ । उसका कुरा अनौठा लाग्थे । उसले सुनाउने केटीका किस्सा, गर्लफ्रेन्डका किस्सा अचम्मैका हुन्थे ।
केटीहरूका कुरा मनैभित्र पसेर थाहा पाएजसरी ऊ मलाई गफ लगाउँथ्यो । म पनि चनाखो भएर उसका कुरा सुन्थेँ अनि पत्याउँथे पनि । ऊ भन्थ्यो, “केटीहरूले भित्र भित्रै तँलाई जति मन पराएपनि बाहिर त्यो कुरा भन्दैनन् । उनीहरूका आँखाका भाका हेरेरै कुरा बुझ्नुपर्छ ।” यसलाई कसरी यस्ता कुरा थाहा भएको होला ? म सोचेरै दङ्ग पर्थेँ ।
आँखाको भाका बुझ्ने भनेको के होला ? कसरी सम्भव होला ? कसरी थाहा पाइन्छ होला ? प्रश्न धेरै थिए । बुझ्नलाई मैले धेरैपटक लुकीलुकी धेरै केटीहरूको आँखामा एकोहोरो हेर्ने गरेको अझै सम्झना आउँछ । त्यत्तिमात्रै कहाँ हो र, त्यसरी लुकेर हेर्दा कतिजनासँग त मेरा आँखा नै जुधेका छन् । म त्यतिबेला लाजले रातो हुन्थेँ । अनि मनमनै मुस्कुराउँथेँ ।
साथीले भन्थ्यो, “हेर् केटा...त्यसरी हेर्दा केटीहरू लजाएको देखिस् भने बुझ्, त्यसले तँलाई मन पराउँछे ।” उसले मलाई यसैगरी केटीहरूका बारेमा धेरै कुरा सिकाउँथ्यो । अनि एउटा कुरा भने सधैँ जोड दिएर भन्थ्यो, “केटीले सुरुमा भन्ने नै ‘नो’ हो । यदि तँलाई कोही केटीले ‘नो’ भनी भने त्यो ‘एस’ हो, बुझिस् नि ?” ऊ प्रश्न सोधेजसरी मलाई कडक स्वरमा सम्झाउँथ्यो ।
उसले कहिले कुनै केटीको पाखुरा समातेको, कहिले भने हुलमुलमा कुनै केटीको स्तनतिर हात पुर्याएको, कहिले कुनै केटीलाई थाहा नदिइ उसका कपाल मुसारेको, यस्तै यस्तै सुनाएर हामीलाई उत्तेजित बनाउँथ्यो ।
एकदिन उसले हौसिँदै भनेको कुरा पनि मेरो सम्झनामा अझै ताजा छ । उसले रसिक पारामा भनेको थियो, “मैले त्यसको हात च्याप्प समातेँ । उसले पन्छाउन खोज्दै थिई, तर, म अघि सरेर उसको गालामा म्वाइ खाइदिएँ । अनि उसको दुधमा हात पुर्याउनै लाग्दा ऊ कराउन थालेजसो गरी अनि म गुटुटु भागेँ हाहाहा... ।” यति भनेर उसले ठूलै काम गरेजसरी खिलखिलाएर हाँस्यो ।
समय बितिरहेको थियो । मेरो पढाइ पनि चलिरहेकै थियो । पछि मैले ब्याच्लर तहमा जेन्डर स्टडिज विषय लिएर पढ्न थालेँ । लैङ्गिकता, यौन अधिकार, महिलाका मुद्दाहरू मैले पढ्नुपर्ने हुन्थ्यो । यस्ता विषय पढ्न थालेपछि, यौन हिंसा, यौन अधिकारजस्ता विषयमा साथीहरूसँग छलफल र कुराकानी हुन्थ्यो । केटी साथीहरू पनि थिए । उनीहरू आफूले भोगेका त्यस्तै घटना समूहमा छलफल गर्थे । ती घटनालाई तीता र घिनलाग्दा अनुभवका रूपमा व्याख्या गर्थे ।
छलफलहरूमा सहभागी हुन थालेपछि मात्रै बोध भयो मलाई, त्यो साथीले त मलाई स्कुले जीवनमा, प्लस टु जीवनमा कस्ता कुराहरू सिकाएको रहेछ । त्यही साथीको लहैलहैमा लागेर मैले पनि कति धेरै केटीलाई उनीहरूले मन नपर्ने व्यवहार गरेँ । रमाइलोका लागि हुलमुलमा कति केटीलाई छोएको थिएँ । उनीहरूको अप्ठेरो परिस्थितिको फाइदा उठाउँदै उनीहरूको गोप्य अङ्गहरूतिर हात बढाएको थिएँ ।
त्यतिमात्रै होइन, माया र आकर्षणलाई छुट्याउन नसक्ने उमेरमा प्रेमका नाम पारेर बलजफ्ति शारीरिक सम्बन्धका लागि उक्साएको थिएँ । किनभने, मेरो मनमा त कुनै केटीले “नो” भन्नुको मतलब “एस” हो भन्ने बुझाइ गहिरो गरी गढेको थियो । मलाई लाग्थ्यो, मेरो साथीले भनेको एकदमै सही हो, केटीहरूले कहिल्यै एस भन्दैनन् । नो भनेकै एस हो ।
तर, पछि जब यस्ता विषयमा जान्ने, बुझ्ने प्रयास गरेँ, यसका बारेमा विभिन्न व्यक्तिका कुरा सुन्न थालेँ, अनि बिस्तारै थाहा पाउँदै गएँ, “नो” भनेको त “नो” नै रहेछ । कसैको अप्ठेरो र असहज परिस्थिति, कसैको मौनता, कसैको विवशताको फाइदा उठाएर उसलाई नराम्रो लाग्ने गरी छुनु, अश्लिल अर्थ लाग्ने गरी शब्दले, सङ्केत वा भावले जिस्क्याउनु पनि एकप्रकारको दुर्व्यवहार रहेछ ।
मैले बल्ल बुझेँ, म त आफ्ना उमेर समानका कैयौँ केटीलाई दुर्व्यवहार गर्दै हुर्किएको रहेछु । मजस्तै मेरा साथीले पनि धेरै केटीलाई दुर्व्यवहार गर्दै सस्तो मनोरञ्जन लिइरहेका रहेछन् । हामीले थाहै नपाइ यौन दुर्व्यवहार त हाम्रो बाल्यकालको एउटा अभिन्न अङ्ग पो बनिसकेको रहेछ ।
अहिले ती दिन सम्झिँदा मलाई आफैँसँग लाज लाग्छ । अतितका आफ्ना व्यवहार सम्झेर आफैँदेखि घिन लागेर आउँछ । स्कुलको त्यो साथीसँग आजभोलि कुनै सम्पर्क छैन । तर, अन्य साथीहरू मार्फत सुनेको थिएँ, उसले बिहे गरिसक्यो रे अनि उसका २ वटी छोरीहरू पनि छन् रे ।
साँच्चै उसले आफ्ना छोरीहरूलाई यौन दुर्व्यवहारबारे, राम्रो छुवाइ र गलत छुवाइबारे के कुरा सिकाउँछ होला ?
उसले आफ्ना छोरीहरूमा पहिले आफूले दुर्व्यवहार गरेका केटीहरूको अनुहार देख्छ कि देख्दैन होला ?
यी प्रश्नको जवाफ त उसँगै छ । बस्, मलाई त्यो साथीलाई आफू अगाडि राखेर उसका छोरीहरूलाई भन्न मन छ, “नो मिन्स नो ।”
(नाम प्रकाशन गर्न नचाहने धादिङका एक युवाको प्रस्तुत अनुभव गुलाबी संवाद ब्लगबाट साभार गरिएको हो । )