सुनसान जंगल थियो । बडेमानको रूखमुनि हामी टुसुक्क बसेका थियौँ । अनि हाम्रो सामुन्ने अग्लो झरना थियो । झरनाको पानीलाई छुँदै अगाडि बढेको हावाको बेगले हामीलाई चिसो बनाइरहेको थियो । तर, हाम्रो शरीर भने एक अर्काको स्पर्शले बिस्तारै तात्दै थियो । चिसोबाट बच्न हो कि एक अर्काको मायामा डुबेर हो, हामी टाँसिदै टाँसिदै गइरहेका थियौँ । यस्तो लाग्थ्यो, केही बेरमा हामी दुईबाट विलीन भएर एक मान्छे बन्नेछौँ ।
एक मान्छे बन्ने प्रक्रियामा सामेल भएको केही बेरमै म झल्याँस्स ब्युँझे । म नबिउँझिनु पथ्र्यो । कोही मान्छे पनि यति मीठो सपनाबाट ब्युँझिन चाहँदैन । मैले वरिपरि हेरेँ, म मेरै खाटमा थिएँ । चकमन्न अँध्यारोमा पनि खाट छेउमा स्कुलका किताब र एक छेउमा मैलै साँझ गर्दागर्दै अल्छी लागेर छाडेको होमवर्क गर्ने कपी खुल्ला हालतमा देखियो ।
त्यसो भए म एकैछिन अघि कहाँ थिएँ ? कसको अंगालोमा थिएँ ? किन त्यसरी जोडले टाँस्सिएको थिएँ ? त्यो झरना कहाँको थियो ? त्यो वन कसको थियो ?
दिमागमा एकपछि अर्का प्रश्न आइरहेका थिए । म फेरि झसंग भएँ । जतिबेला मेरो हात कट्टुमा प¥यो । पिसाब फेर्ने ठाउँको भाग चिसो थियो ।
के मैले पिसाब फेरेँ ?
के झरना झरिरहेको देख्दादेख्दै मैले कट्टुभित्र झरना बगाएँ ?
मैले कट्टुभित्र हात छिराएर चिसो लागेको भाग छामे । त्यो चिसो त थियो तर अर्कै खालको । पातलो सिगान जस्तो, च्यापच्यापे केही लतपतिएको थियो ।
मलाई कस्तोकस्तो भयो । डर जस्तो पनि, सङ्कोच जस्तो पनि ! लौन यो के भयो ?
उठेर बत्ती बाल्न मन थियो । उज्यालोमा हेर्न मन थियो, मेरो कट्टुभित्र के लागेको रहेछ भनेर । तर, त्यो कोठामा म एक्लै थिइन । छेवैको अर्को खाटमा भाइ सुतेको थियो । फेरि उठेर स्विचबोर्ड प्याट्ट पार्दै बत्ती बाल्दा अर्को कोठामा सुत्नुभएको बाबाममीले थाहा पाउनुभयो भने ? यति राती किन बत्ती बालेको ? के भयो भनेर सोध्नुभयो भने ? सोध्दैसोध्दै कोठाभित्रै छिर्नुभयो भने ? छिरेर मेरो हात किन कट्टुभित्र राखेको भनेर सोध्नुभयो भने ? कट्टुभित्र सिगानजस्तो चिप्लो पदार्थ टाँसिएको थाहा पाउनुभयो भने ?
चिप्लो पर्दाथ कहाँबाट आयो ? मैले पत्तो पाउन सकिनँ । मलाई शरीरको कुनै पनि भागमा कुनै दुखाइ भएको थिएन । मात्र शरीर चङ्गाजस्तै भएको थियो । तर, त्यो चिप्लो पदार्थ कसरी आयो ? सुसु गर्ने ठाउँबाट आयो भनौँ भने त्यो सुसु नै गर्ने ठाउँ हो । मेरो हातमै लागेको चिप्लो पदार्थ त्यहाँ टाँसियो भनौँ भने मैले हात छिराएर त्यहाँ पु¥याएकै छैन । पु¥याएकै भएपनि मेरो हातमा त्यस्तो चिप्लो कहाँबाट टाँसियोस ? नाकबाट सिगान बगेको छ भनौँ भने, मेरो नाक पनि सुख्खा नै छ ।
हैन कट्टुभित्र सुसु गर्ने ठाउँनेर चिप्लो कहाँबाट टाँसियो ?
एकपछि अर्को गर्दै उब्जिएका प्रश्नले म आफैँसँग डराएँ । डराउँदा डराउँदै म कतिबेला निदाएँ पत्तो पाइनँ ।
भोलिपल्ट ट्वाइलेटमा मैले कट्टु उल्ट्याएर हेरेँ । हिजो रातीको चिप्लो टाँसिएको ठाउँमा सिगानको टाटा जमेजस्तै देखिन्थ्यो ।
मेरो मनको खसखस कत्तिपनि मेटिएको थिएन । बाबाममीसँग यस्तो कुरा सोध्न सक्ने, भन्न सक्ने आँट नै थिएन । भाइलाई सोधौँ भने त्यसलाई झन् के थाहा ? फेरि भाइसँग पनि यस्तो कुरा कसरी सोध्नु ? सोधिहाले पनि त्यसले मेरो कुरा बाबाममीलाई सुनाइदिन सक्छ ।
सरलाई सोधौँ ? कक्षाकोठात्रित्र किताबको विषयमा बाहेक अरू प्रश्नमा सवाल जवाफ नगर्ने सरहरूलाई व्यक्तिगत कुरा कसरी सोधौँ ?
कसलाई सोधौैँ ?
मनको खुल्दुली कसरी मेटाऊँ ?
दिमागमा प्रवेशको नाम झट्ट आयो । उमेरले म भन्दा तीन वर्ष जेठो । टाइफाइड बिग्रेर दुई वर्ष उसले उपचारको दौडधुपमा बिताउन नपरेको भए मभन्दा तीन कक्षा माथि पुगिसक्थ्यो । बिमारले उसको पढाइ रोकिदियो । अनि ऊ कक्षाकै जेठो विद्यार्थी भयो ।
उमेरले जेठो भएपछि प्रवेशसँग म सबै कुरा साट्न सक्थेँ । हामी बारम्बार झगडा गथ्र्यौँ तर छुट्टिएर बस्न सक्दैनथ्यौं ।
खाजा खाने छुट्टीमा मैले प्रवेशलाई तानेर स्कुल पछाडी लगेँ । त्यहाँ एउटा समीको रूख थियो । त्यसैको फेदमा बसेपछि मैले भनेँ, “एउटा कुरा सोध्छु कसैलाई नभन है ?”
उसले ङिच्च हाँसेझैँ गरेर भन्यो, “अहँ, म त सप्पैलाई भन्दिन्छु । ढोल पिटाइदिन्छु ।”
म ठुस्केजस्तो गरेर मुन्टो बटारेपछि उसले मायालु पारामा जिस्काउँदै भन्यो, “तैँलै नभन भनेको कुरा पनि भन्छु त । बरु भन्, कुरा के हो ?”
मैले झरना छेउमा बसेको । एउटी केटीसँग कस्सिएर अंकमाल गरेको र त्यस लगत्तै कट्टु भिजेको कुराबारे सोधँे, “कतै मलाई कुनै रोगसोग लागेको त हैन नि ?”
मेरो कुरा सकिन नपाउँदै उसको अनुहारमा देखिएको हाँसो आवाज बनेर मुखबाट उछिट्टिसकेको थियो । म सिरियस भएर आफ्नो समस्या सेयर गरिरहँदा ऊ हाँस्न खोजेको मलाई मन परिरहेको थिएन ।
हाँसोको खित्का छाडेर उसले भन्यो, “तेरो बैंस चढ्यो अब ।”
म झन सिरियस भएँ । सोधेँ , “मजाक नगर् न । म बिहानदेखि मुड अफमा छु । के भाको मलाई ?”
प्रवेशले मलाई स्वप्नदोष भएको बताउँदै भन्यो, “नाइट फल भन्छ के यसलाई । स्वास्थ्य शिक्षा पढउँदा सरले पढाउनुभएको बिर्सिस् ? पढाइमा ध्यान दिन छोडेर अनेकतिर मन आँखा डुलाउन व्यस्त भएपछि कसरी थाहा पाउँथिस् त ?”
यति भनेर उ फेरि खितखिताउँदै हाँस्यो ।
प्रवेशले यस्तै अनुभव आफूले दुई वर्षअघि नै गरेको र सबैलाई किशोरावस्थामा प्रवेश गर्दा यस्तो हुने बताएपछि मेरो मनको छटपटी शान्त भयो ।
तर आजपनि झरनाको सामुन्नेमा चिसो बतास खाँदै कसैको अंकमालमा कस्सिएर तातो अनुभव गरेको त्यो सपना सम्झिँदा मलाई काउकुती लागेजस्तो हुन्छ । त्यो सपना फेरि दोहोराएर देख्न पाएजस्तो हुन्छ ।
(किशोर अवस्थामा आइपर्ने स्वास्थ्य समस्या, मनोविज्ञान र उनीहरुका सपनामा आधारित गुलावी संवाद काठमाडौंमा रेडियो जनता ८९.१ मा हरेक शनिवार विहान ८ः३० बजे प्रसारण हुन्छ । साथै यहाँ क्लिक गरेर ब्लगमा समेत पढ्न सकिन्छ )