काठमाडौँ । लगातार दोस्रो सिजन सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र फुटबल क्लबले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
एकै खेल नहारी लिग च्याम्पियन बनेको मछिन्द्रका सुनिल बल लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिए भने विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक बने । सुनिल र विशालले क्रमशः तीन लाख र दुई लाख रुपैयाँ पाए ।
गएको सिजन जस्तै यसपटक पनि लिग उप–विजेता बनेको त्रिभुवन आर्मी फुटबल क्लबले ५० लाख रुपैयाँ पायो । अनि तेस्रो स्थानमा लिग समापन गरेको न्युरोड टिम एनआरटीको भागमा २५ लाख रुपैयाँ पर्यो ।
प्रवेश कटुवालको प्रशिक्षणमा खेलेको मछिन्द्रले लिगमा १३ खेलमध्ये ११ मा जित हासिल गर्यो भने दुईमा मात्रै बराबरी रोकियो । मछिन्द्रलाई आर्मी र संकटा क्लबले गोलरहित बराबरीमा रोकेका थिए ।
लिगमा सबैभन्दा थोरै गोल खाने टिम बनेको मछिन्द्र सबैभन्दा धेरै गोल गर्ने टिम पनि बन्यो । १३ खेलमा दुई गोल खाएको मछिन्द्रले कुल २० गोल गर्यो । मछिन्द्रको पोस्टमा गोल गर्ने भाग्यमानी टिम न्युरोड टिम एनआरटी र एपीएफ फुटबल क्लब रहे । संयोगवश मछिन्द्रले लिगमा आफ्नो पहिलो र अन्तिम खेलमा मात्रै गोल खायो ।
लिगको दोस्रो स्थानमाथि आर्मीले कब्जा जमायो । यसपालिको लिगमा अपराजित रहने दुई टिममध्ये एक रहेको आर्मीले पाँच जित र आठ बराबरीको नतिजा निकाल्यो । उसले १६ गोल गर्दा आठ गोल खायो । तेस्रो स्थानमा रहेको एनआरटीले पनि आर्मीको जस्तै २३ अंक बटुल्यो । तर गोल भिन्नतामा पछि परेपछि एनआरटीले तेस्रो स्थानमा चित्त बुझायो ।
यसैपालि पहिलो पटक ए डिभिजन खेलेको सातदोबाटो युथ क्लब र हेभिवेट मनाङ मस्र्याङदीले २१–२१ अंक बटुले । सातदोबाटे चौथो स्थानमा रह्यो भने मनाङ पाँचौँ स्थानमा सीमित भयो । मनाङले अन्तिम दिनको खेलमा आर्मीसँग १–१ को बराबरी खेलेको थियो ।
यसपटक अन्य दुई विभागीय टिम भने अंक तालिकामा पछाडि धकेलिए । सुरुवाती खेलहरूमा निराशाजनक प्रदर्शन गरेको एपीएफ आठौँ स्थानमा रह्यो भने कुनैबेलाको पावर हाउस पुलिस भने ११ औँ स्थानमा सीमित भयो । रेलिगेसनमा पर्ने दुई टिम भने ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब रहे ।