गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका वडा १ को सहयोग तथा मुलखर्क म्हेन्दो महिला समूहको महिलाहरुको लागि कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न भएको हो ।
तालिममा व्यक्तिको परिवार तथा समुदायमा देखापरेको कानुनी अड्चन तथा भोगेका समस्याहरूसँग सम्बन्धित मुद्दाहरू अंशबण्डा, सम्बन्ध विच्छेद, घरेलु हिंसा, गरिने अमानवीय व्यवहार, विवाहको परिणाम, परिवारकी सम्बन्ध, जग्गा खिचोला, गाली बेइज्जती, तथा स्थानीय पालिकामा रहेका न्यायिक समितिले हेर्न मिल्ने विवादका विषयहरूलाई समेटिएर गोपाल प्रसाद भण्डारी र कौशल राई अधिवक्ताले प्रशिक्षण गराई सहजीकरण गर्नुभएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा गाेकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्न्ननी लामाले क्षेत्रमा ८० प्रतिशत महिलाहरू माथि विभिन्न किसिमका हिंसा भइरहेको बताउनुभयो ।
यस तालिममा थाहा पाएका कानुनी कुराहरू आफ्ना घर परिवार तथा समुदायमा समेत जानकारी गराई अप्ठ्यारामा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको समस्याका विषयमा जो कोहीले पनि न्यायिक समितिल तथा गाेकर्णेश्वर नगरपालिकाले सञ्चालन गरेको वडामा मेलमिलाप केन्द्रमा उजुरी गर्न सक्ने बताउनुभएको थियो । सो परेको उजुरीको सम्बन्धमा तत्काल न्यायिक समितिले एक्सनलाई घटनाका संलग्नलाई कानुनी दायरामा ल्याउने तथा पीडितलाई न्यायको अनुभूत गराउन पहल गर्ने बताउनुभयो ।
सोही कार्यक्रमका अतिथि वडा अध्यक्ष द्वारिका श्रेष्ठ महिलाहरु आफ्ना अधिकारप्रति चनाखो रहनु पर्ने बताए । उनले भने आत्मनिर्भर बन्नका लागि उत्पादनसंग जोडिनु पर्छ बिकासको सुचकाङ्क भौतिक बिकास मात्र नभई मानबिय बिकास पनि भएकोले महिलाहरुको दक्षता र क्षमताको बिकास गर्न नगर पालिका निरन्तर रुपमा लागिपरेको बताए।सो कार्यक्रममा ५० जना महिलाको उपस्थिति रहेको थियो ।