काठमाडौं । पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पाहुना टोली युगान्डासँग पराजित भएको छ ।
घरेलु मैदानमा भइरहेको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालको यो लगातर दोस्रो हार हो ।
मंगलवार टियु मैदानमा भएको दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको हो ।
जितसँगै पाँच खेलको श्रृंखलामा युगान्डाले २–० अग्रता बनाएको छ ।
नेपालले दिएको १०२ रनको लक्ष्य युगान्डाले निर्धारित ओभरको एक बल बाँकी रहँदा नौ विकेट गुमाएर पूरा गर्यो । युगान्डाको जितमा रिता मोसामालीले सर्वाधिक ३० रन बनाइन् । उनले ३४ बलमा तीन चौका प्रहार गरिन् । यस्तै, फ्यांक्लिन नाज्जुम्बाले १९ रन बनाउँदा जनेत एम्बाबाजीले १६ रन बनाइन् ।
नेपालकी कविता कुँवर र सबनम राईले समान दुई विकेट लिए । यसबाहेक, सीता रानामगर र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए । यसअघि टस हारेपछि ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो ।
नेपालको लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाएकी थिइन् । विन्दुले ३६ बलम दुई चौका प्रहार गरेकी थिइन् । यस्तै, सरिता मगरले २२ र कप्तान रुवीना क्षेत्रीले १७ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
नेपालको खातामा डोली भट्टले नौ रन जोड्दा सीता रानामगरले ६ र अप्सरी बेगमले तीन रन थपिन् । युगान्डाकी जनेत एम्बाबाजीले दुई विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान एक एक विकेट लिए ।
नेपालले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी–२० श्रृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो ।