काठमाडौं उपत्यकामा दशेंको चहलपहल बढ्दै छ । घटस्थापना लगत्तै दशैंको लागि विभिन्न पसलमा आवश्यक सामान किन्नेहरुको घुइँचो लागि रहेको छ ।
काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्ने ग्राहकहरुको भीड लागेको छ । तर विगतको वर्षमा जस्तो यस वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् । तर दशैँको लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरुलाई केही राहत मिल्ने आशा जगाएको उनीहरुको भनाई छ ।
व्यपारीहरुले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरुको क्रय शक्ति कदमै कमजोर रहेको देखिएको व्यवसायीहरुले बताए । उनीहरुले दशैँ लागेसँगै व्यापार बढेको थालेको पनि बताए । उनीहरुले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरु बढ्ने आशामा व्यवसायीहरु रहेको बताए । आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएकाले दशैँमा ग्राहकहरुको रोजाइमा सस्तो सामान पर्न थालेको व्यवसायीहरुको भनाई छ । व्यापारीहरुले न्यूरोड लगायतका क्षेत्रमा भित्र बिक्री नहुँदा बाहिर फुटपातमा सामान राखेर बिक्री गर्नुपरेको बताए ।
नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरु बिक्री भएपनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताउनु भयो । उहाँले आर्थिक मन्दीको कारण रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको बताउनु भयो । उहाँले क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको बताउनु भयो ।
राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताउनु भयो । उहाँले उपभोग गर्ने युवा श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको बताउनु भयो । उहाँले न्यूरोड लगायतका क्षेत्रमा भित्र सटरमा रहेको सामान बाहिर ल्याएर सेलमा बिक्री गरिरहेको बताउनु भयो । उहाँले पसलका सामानहरु ‘सेल’मा राखेपछि ग्राहकहरुको भीड देखिएको बताउनु भयो ।
उहाँले व्यापारीमा पनि आर्थिक मन्दी भएको कारण २ हजारको सामान सेलमा रोखेर २ सयसम्म बिक्री गरिरहेको बताउनु भयो । उहाँले मन्दीका कारण ग्राहक पनि सस्तो सामान नै बढी किनिरहेको बताउनु भयो । उहाँले व्यापारीहरु भएको सामान दशैँमा सेलमा राखेर स्टक सक्ने दशैँपछि त्यतिकै बस्ने मनस्थिति समेत बनाइरहेको बताउनु भयो । उहाँले मन्दीकै कारण खुद्रासहित फुटपाथ र होलसेल पसलहरुमा पनि बिग सेल राखिएको उल्लेख गर्नुभयो ।