काठमाडौं । बागमती सरकारबाट राप्रपा बाहिरिएपछि यहाँको सत्ता समीकरण फेरिने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलीय सत्ता गठबन्धन भंग गरी पूरानो गठबन्धन ब्यूँताएपछि सरकारबाट बाहिरिने राप्रपाले निर्णय गरेको हो । पार्टीको निर्णयपछि बागमती प्रदेश सरकारबाट पार्टीका मन्त्रीहरूले शनिबार साँझ मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राजीनामा बुझाए।
राप्रपाका तर्फबाट बागमती सरकारमा सहभागी राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पदबाट राजीनामा दिनुभएको हो ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँगै सरकारमा सहभागी भएको १ महिनामै राप्रपा बाहिरिएको हो ।
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि एमाले पनि सरकारबाट बाहिरिन सक्ने सम्भावना बढ्दै गएको छ। यो अवस्थामा माओवादी केन्द्र र कांग्रेस मिलेर सत्ता बनाउने खेल सुरु भएको छ । एमाले पनि हटेमा बागमती प्रदेश सरकारमा पूरै फेरबदल आउनेछ।
केन्द्रमा पुरानै गठबन्धन ब्यूतिनेबित्तिकै कांग्रेसका सांसदहरूले आफ्नो गतिविधि बढाइरहेको नेपाली कांग्रेस बागमतीका प्रमुख सचेतक कुन्दनराज काफ्लेले बताउनुभयो।
‘केन्द्रमा जे हुन्छ, प्रदेशमा पनि त्यही हुने हो। नयाँ गठबन्धन टुटेर पुरानो ब्यूँतिएकाले कांग्रेस सरकारमा जान्छ भन्ने सम्भावना बढेको हो’, उहाँले बताउनुभयो ।
११० सदस्यीय बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ सिट छ। एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टी (हानेपा) का २ प्रदेश सांसद छन्।
राप्रपाका मन्त्रीहरूले छाडेका तीनवटै मन्त्रालय अहिलेलाई मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्नुभहुनेछ ।
पुरानै गठबन्धनको नयाँ सत्ता समीकरणमा नेपाली कांग्रेस र एकीकृत समाजवादी यस प्रदेशमा भित्रिएको भए पनि राष्ट्रपतिको चुनावअघि नयाँ मन्त्री नियुक्ति नहुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बताउनुहुन्छ ।
त्यसो त केन्द्रमा पुरानै गठबन्धन ब्यूँतिएपछि बागमती प्रदेशमा पनि अब माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर सरकारमा जाने सम्भावना बढेको छ।