काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र सञ्चालित नौवटा पसललाई कारबाही गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र सञ्चालित चिया तथा कफीलगायतका नौवटा पसलको अनुगमन गरेर अनुचित मूल्य लिनेलाई जरिवाना गरेको हो ।
विभागका बजार अनुगमन निरीक्षकको टोलीले विमानस्थल परिसरका नौवटा पसलको अनुगमन गरी उनीहरूले गरेको कैफियतअनुसार न्यूनतम ५० हजार र बढीमा चार लाख रुपियाँसम्म जरिवाना गरेको छ ।
विभागका अनुसार विभागको अनुगमनका क्रममा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेका एयरपोर्ट टी, कफी एन्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, एबीपी मार्ट प्रालि, ओम नवदुर्गा इन्टरप्राइजेज प्रालि, आन्तरिक टर्मिनलतर्फ न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट (टी, कफी एन्ड कन्फेक्सनरी) सप, (होटल स्वनिङ कफी एन्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज प्रालि तथा होटल स्वनिङ गरी नौवटा पसल तथा होटललाई ५० हजारदेखि चार लाख रुपियाँसम्म जरिवाना गरेर एकै दिनमा १५ लाख राजस्व सङ्कलन गरेको छ ।
अनुगमनका क्रममा अधिकांश विमानस्थलभित्रका पसलले रिलेबलिङ गरेको वा गुणस्तर, परिणाम, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएको विभागका निर्देशक भट्टराईले जानकारी दिनुुभयो । विमानस्थलभित्र रहेका नौवटा पसलको अनुगमन गरिएकामा सबै एउटा न एउटा कारबाहीमा परेको उहाँको भनाइ छ ।
देशकै राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका पसलमा उपभोग्य म्याद सकिएर रिलेबलिङ गरेका सामान बिक्री गर्नु देशकै लागि लज्जास्पद भएको भन्दै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुभयो ।