काठमाडौं । मौसमविदका अनुसार तापक्रम बिस्तारै बढ्न थालेको छ।
यस क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा पुगेको छ। बिहिबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार हिजो उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।
अहिले बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस, वागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ।
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
आज प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक मौसम बदली रहने छ। मौसम बदली भए पनि वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु(कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।