काठमाडौं । उपसभामुख पदका लागि शुक्रबार मनोनयन दर्ता हुने भएको छ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रकाशित गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ।
शुक्रबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारहरूले उम्मेदवारी गर्ता गरिसक्नुपर्नेछ। शुक्रबार नै उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी छ।
उपसभामुख चयन भने प्रतिनिधि सभाको शनिबार बस्ने बैठकमा हुनेछ। शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।
उपसभामुखका लागि सत्ता गठबन्धन र नेपाली कांग्रेसलगायत दलहरूदे उम्मेदवारी दिने तयारी गरेका छन् ।
सत्ता गठबन्धनमा भागबन्डा भएअनुसार उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ। उक्त पार्टीले उपसभामुख उम्मेदवार चयन गर्न संसदीय दलको बैठकसमेत बोलाएको छ।
रवि लामिछाने नेतृत्वको उक्त पार्टीबाट उपसभामुखमा सांसदद्वय सोबिता गौतम र इन्दिरा रानामगर दाबेदार रहेको बताइएको छ।
कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपालगायत दलले पनि साझा उम्मेदवार तय गर्ने तयारी गरेका छन्। उम्मेदवार तय गर्न शुक्रबार बैठक बोलाएका छन् ।
बिहीबार सभामुख चयनका लागि निर्वाचन भएको थियो। सत्ता गठबन्धनका उम्मेदवार नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुख चयन हुनुभएको छ ।
कांग्रेसललगायत दलबाट साझा उम्मेदवार कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने भने सभामुखमा पराजित भएकी हुनुभएको थियो ।